• २ असोज २०८२, बिहिबार

रानी भानुमती र सुनको झ्याल

blog

मल्ल राजाका पालामा ललितपुरलाई पाटन भनिन्थ्यो । पाटनमा सिद्धिनरसिंह मल्लले राज्य गर्थे । उनी जनताका प्यारा थिए । उनकी रानीको नाम भानुमती थियो । राजारानी दुवै धार्मिक थिए । 

राज्यको सम्पत्तिलाई राजाले जनताको सम्पत्ति सम्झिन्थे । राजा राज्यकोषबाट आफ्नो परिवारलाई खान लाउन पुग्ने जति मात्र रुपियाँ लिने गर्दथे । दरबारमा नोकरचाकर धेरै थिएनन् । घरका कतिपय काम राजा आफैँ गर्दथे भने भातभान्सा, बढारकुँढार, पानी पँधेराका काम रानी गर्दथिन् । राजारानी दुवै औधी नै असल थिए । आफ्ना जनताको सधैँ भलाइका लागि कामकाज र नियाँ निसाफ दिने गर्दथे । 

राजदरबारको बगैँचानजिक एक तलाउ थियो । त्यस तलाउका पारिपट्टि महादेवको एउटा मन्दिर थियो । त्यस मन्दिरमा जान ढुङ्गा छापेको बाटो थियो । त्यसमाथि तलाउको पानी छिपछिपे रूपमा जमेको हुन्थ्यो । सधैँ जसो नुहाइधुवाइ सकेर सफा लुगामा रानी नित्य महादेवका मन्दिरमा जल चढाउन जाने गर्दथिन् । 

पानीबाट जाँदा पनि रानी भानुमतीका गोडा पानीमा कहिले पनि डुब्दैनथे । पानीमा टेक्दा पनि उनका पैताला कहिले भिज्दैनथे । रानी भानुमती पानीका माथि माथि टेकेर मन्दिरमा पुग्थिन् । महादेवलाई जल चढाउँथिन् र दरबार फर्कन्थिन् । ‘पानीमा हिँड्दा पनि उनका गोडा भिज्दैनन्, रानी भानुमती पानीमा माथि माथि हिँड्छिन्’ भन्ने कुरा पाटनका जनतामाझ पनि फैलिएको थियो । रानीलाई पाटनका जनता भगवतीका अवतार मान्दथे । 

एकदिनको कुरा हो, पाटन दरबारको बिचमा भएको झ्यालछेउमा उभिएर रानी तल बाटामा हेर्दै थिइन् । त्यहाँ अनेकौँ मानिस आवतजावत गरिरहेका थिए । त्यहाँ सुनका गरगहनाले झकिझकाउ महिला हिँडिरहेका पनि रानी भानुमतीले देखिन् । आफ्ना राज्यका महिलाले झारझुट्ट गरगहना लगाएको देख्दा रानीलाई त्यसै गरी सुनका गरगहना लगाउने रहर लागेछ । 

रानीले मनमनै भनिन्, “जनताका गहना छन्, आफ्ना त केही गरगहना छैनन्, बरु महाराजलाई पो बिन्ती गर्नु प¥यो ।”

रानी भानुमतीले राजालाई गरगहनाको इच्छा व्यक्त गरिन् । राजाले आफ्ना मन्त्रीलाई बोलाएर रानीलाई पनि सुनका गहना लगाउन रहर लागेको कुरा सुनाए । पाटनका मन्त्रीले रानीलाई गहना लगाउनका लागि पाटनमा जति घरधुरी छन् ती सबैबाट एक एक पैसा उठाए । त्यसबाट रानीका लागि सुनका गरगहना तयार भए । सुनका गहना लगाउन पाउँदा रानी भानुमतीको खुसीको सीमा रहेन । रानी अति प्रसन्न भइन् । 

भोलिपल्टको कुरा हो । रानी राम्रा पोसाक र गरगहनाले सजिसजाउ भएर मन्दिर जान भनेर हिँडिन् । मन्दिर जाँदा रानीले पानीमा टेक्नेबित्तिकै उनका गोडा त पानीमा चुर्लुम्म डुबे । 

पानीमा हिँड्दा कहिले नभिज्ने उनका पैताला भिज्दा चकित परिन् । रानी भानुमती आफ्ना गोडा र पैताला भिजे, सधैँ पानी माथि माथि हुने उनका गोडा पानीमा डुबे । आफूले लगाएका गहनाले पो यस्तो भएको हो कि भन्ने रानीलाई शङ्का लाग्यो ।  

त्यसको भोलिपल्ट गरगहना केही नलागाई पहिले जस्तै गरी रानी मन्दिरमा गइन् । त्यसदिन तलाउका पानीमा उनका गोडा डुबेनन्, गोडाले पानी नै नछोएपछि उनका पैताला पनि भिज्ने कुरै भएन । रानी पानीभन्दा माथि माथि आफ्ना गोडा चालेर मन्दिरमा पुगेर भगवान्लाई जल चढाइन् ।  

त्यसै दिनदेखि रानीले महँगा गरगहना लगाउने विचार त्यागिन् । उनले ती सबै गहनाको पोको राजालाई दिएर सबै घटनाको वृत्तान्त सुनाइन् । राजाले पनि मन्त्रीलाई बोलाएर यी गहना सबै बेचबिखन गरी जनताको एक एक पैसा फिर्ता गरिदिन आदेश दिए । 

एक कान दुई कान मैदान त्यो कुरा पाटनका जनताका कानमा पनि पुग्यो । रानीलाई गहना लगाउन दिएको पैसा हामी फिर्ता लिँदैनौ भनेर जनताले अड्डी कसे । त्यसपछि राजा, मन्त्री, भाइभारदारको सल्लाहमा रानीले जुन झ्यालबाट गहना लगाएका महिला बाहिर सडकमा देखेकी थिइन् त्यही झ्याललाई सुनको झ्याल बनाइयो । 

त्यो सुनको झ्याल आज पनि पाटन दरबारमा छ । पाटन दरबारका बिचमा भएको त्यो सुनको झ्यालले सबै मानिसलाई सादा जीवन र महान् विचारका साथ बाँच्न प्रेरणा दिइरहेको छ । 

मुना  

Author

लक्ष्मीधर गुरागाईं