हजुरआमा र नातिनी बेलुकापख हावा खान डुलिरहेका थिए ।
“आमा, आमा त्यहाँ हेर्नुहोस् त ।” कौवाको बचेरातिर हेर्दै नातिनीले भनी । बाटो छेउमा घाइते बचेरा पीडाले छटपटाइरहेको थियो ।
“हेर कति बिस्ट्याएको । यसको घाँटीमा चोट लागेजस्तो छ ।” बचेरालाई हातमा लिँदै हजुरआमाले भनिन् ।
उनीहरूले घाइते कौवाको बचेरालाई घरमा लिएर गए ।
हजुरआमाले बचेरालाई जाउलो र मनतातो दूध खुवाइन् । जाउलो र दूध खाइसकेपछि बचेराले तरतरी आँसु चुहायो । उसले अझै पनि बिस्ट्याइरहेको थियो ।
“आजलाई पुग्यो अब ।” हजुरआमाले कौवाको बिस्टा सफा गरिदिँदै भनिन्, “ल अब तिमी सुत । हामी पनि सुत्न गयौँ ।”
हजुरआमा र नातिनी मस्त निदाए ।
नातिनी भोलिपल्ट सबेरै उठी । ऊ कौवाको बचेरा हेर्न गई । अचम्म त्यहाँ बचेरा थिएन । त्यहाँ त उसको बिस्टा मात्र थियो ।
‘आमा, आमा...’– उसले हजुरआमालाई बोलाई ।
हजुरआमा दौडदै आइन् । वरपर हेरिन् । बचेरा थिएन । “ओहो कहाँ गयो होला बिचारा ।” उनले झ्याल बाहिर हेर्दै भनिन् ।
‘कति धेरै बिस्ट्याए छ नि’ भन्दै उनी विस्तारै बचेरा राखेको ठाउँमा गइन् । आफ्ना धमिला आँखालाई साना बनाउँदै हेरिन् । त्यहाँ त मोतीका चम्किला दानाहरू पो रहेछन् ।
‘धन्यवाद बचेरा ।’– हातमा मोतीका दाना लिँदै हजुरआमाले मुस्कुराउँदै भनिन् । अब आफूहरूका दुःखका दिन हराउने भए भनेर उनी खिलखिलाउन थालिन् ।
हजुरआमा मुस्कुराएको देखेर नातिनी पनि खुसी भई ।