• १३ वैशाख २०८१, बिहिबार

‘स्वास्थ्य पहुँचमा दिगो विकास लक्ष्य हासिल गर्ने सही दिशा छैन’

blog

स्वास्थ्य सेवा विभागले आयोजना गरेको ‘स्वास्थ्यमा विश्वव्यापी पहुँच दिवस’ कार्यक्रम । तस्बिर : सिर्जना खत्री

काठमाडौं, मङ्सिर २६ गते । नेपालमा स्वास्थ्यमा विश्वव्यापी पहुँचसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्न सही दिशा नरहेको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा विश्वव्यापी पहुँच दिवस’को अवसरमा आयोजना गरेको कार्यक्रममा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा.अनुप बाँस्तोलाले सो कुराको जानकारी दिनुभएको हो ।

डा. बाँस्तोकाका अनुसार नेपालमा स्वास्थ्य सर्वव्यापी पहुँचका लागि देशभरिकै प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालन भएका छन् ।

यसैगरी, प्रत्येक स्थानीय तहमा ५, १० र १५ शय्याको आधारभूत स्वास्थ्य सेवा निर्माणाधीन छन् ।

जसअन्तर्गत, स्वास्थ्य बिमा कार्यक्रम, गर्भवती, प्रसव तथा सुत्केरीको आकस्मिक प्रेषणका लागि एअर लिफ्टीङ कार्यक्रम, स्वास्थ्य संस्थाका भवनहरू अपाङ्ग मैत्री, किशोरी मैत्री तथा प्रचलन स्वास्थ्य मैत्री निर्माणाधीन छन् ।


त्यस्तै, प्रत्येक प्रदेशमा  विशेषज्ञ अस्पताल तथा मेडिकल कलेज स्थापना नीति, खोप क्लिनिक, गाउँ घर क्लिनिक तथा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

“यसका बाबजुद नेपालमा अझै पनि स्वास्थ्यमा सर्वव्यापी पहुँचसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्न सही दिशा छैन । दिगो विकास लक्ष्य परिसूचक ३.८.१ नेपालका लागि सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच सुचाङ्क सन् २०१० मा कुल एक सय अङ्कमा ५२ रहेकोमा सन् २०१९ मा बढेर  ५९ मा पुगेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसको स्थानमा दक्षिणपूर्वी एसिया क्षेत्रमा रहेको अङ्क मात्र हासिल गर्ने पक्षेपण गरिएको छ ।”

विभिन्न सामाजिक आर्थिक र भौगोलिक समूहहरूको हकमा स्वास्थ्य सेवासम्मको पहुँचमा उच्च असमानता रहेको उहाँको भनाइ छ ।  दिगो विकासको लक्ष्य सूचक ३.८.२ स्वास्थ्यमा चालू खर्चको हिस्सा व्यक्तिको खल्तीबाट हुने उहाँले बताउनुहुन्छ । 

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई हटाई सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि मार्गचित्र तयार गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवा नपुगेका ठाउँका सर्वसाधारणलाई सेवाको पहुँच पुर्‍याउन सरकार लागि परेको उल्लेख समेत गर्नुभयो ।  

यसैगरी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्र रमण सिंहले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले पहल गर्दै आएको बताउनुभयो ।

उहाँले बहुपक्षीय सहकार्यमार्फत आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य सेवा प्रदायकको कार्यसम्पादन प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाको समयानुकूल क्षमता अभिवृद्धि गर्ने, विशेषज्ञ एवम् विशिष्टीकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकको आवश्यकता र क्षमतालाई आधार मानी स्वास्थ्य बीमा कार्यक्रम परिमार्जन गर्ने बताउनुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सबैलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।