• १८ कात्तिक २०८२, मङ्गलबार

गर्भवतीकाे हेलिकोप्टर मार्फत उद्धार

blog

गर्भवतीकाे उद्धार गर्दै । तस्बिर : स्वास्थ्य चौकी मैकोट ।

जयमान बुढामगर

रुकुमपूर्व, कात्तिक १८ गते ।  रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१, मैकोटबाट गर्भवतीकाे हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

मङ्गलबार बिहान पौने १० बजे मैकोटका १५ वर्षीया गर्भवतीकाे हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । गर्भवती किशोरीलाई ज्वरोले च्यापेपछि मङ्गलबार बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो ।

स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान विष्टले जानकारी दिनुभयो ।

बच्चा जन्मिने समय मङ्सिर महिना रहेको विष्टले जानकारी दिनुभयो । बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको विष्टले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकाेप्टर मार्फत मैकोट देखि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिनुभयो ।

उद्धारका लागि पहलकदमी र साथ सहयोग गर्नु हुने सबैलाई गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विकले धन्यवाद दिनु भएको छ ।