• २० वैशाख २०८१, बिहिबार

रमाइलो काठमाडौँ फन पार्क

blog

भाइबहिनीहरू फुर्सदको समयमा हामी सबैजनालाई घुम्न जान मन पर्नु स्वाभाविक हो । विद्यालय बिदा वा हप्तामा हुने एक दिन शनिबार पनि घुमेर नै दिन बिताउने गर्छाैं । 

फुर्सदको समयमा घुम्नका लागि काठमाडौँमा अनेकौँ ठाउँ छन् । तीमध्ये काठमाडौँको फन पार्क नेपालको सबैभन्दा पुरानो फनपार्क हो । 

हामी जति नै बूढो भए पनि हामीभित्रको मन सधैँ बच्चा नै रहन्छ । त्यसैले काठमाडौँको फन पार्क बालबालिका र वयस्क र वृद्धवृद्धाका लागि घुम्नका लागि एकदमै उत्तम ठाउँ हो ।

काठमाडौँ फन पार्क काठमाडौँ उपत्यकाको मुटु भृकुटीमण्डपमा अवस्थित एक मात्र मनोरञ्जन स्थल हो । जहाँ बालबालिकादेखि वृद्धवृद्धा सबैले मनोरञ्जन लिन सक्छन् । निकै आकर्षक खेलहरू रहेको यस पार्कमा विषेश गरी बिदाका दिनमा घुइँचो लाग्ने गर्दछ ।

सिंहदरबार हुँदै पुतलीसडकतर्फ अगाडि बढेर बायाँपट्टि लागेपछि भृकुटीमण्डप नपुगी थोरै अघि बढेपछि हामीले बायाँपट्टि ठूलो गेट देख्न सक्छौँ त्यो हो काठमाडौँ फन पार्क । हामी सबैको रमाइलो र रमाउने ठाउँ । 

काठमाडौँ फन पार्कलाई भृकुटीमण्डप पार्क पनि भनिन्छ, बालबालिका , वृद्धवृद्धा र हरेक उमेर समूहका लागि साप्ताहिक बिदाको दिन रमाइलो समय बिताउनका लागि उपयुक्त ठाउँ मान्निछ ।  

फन पार्कमा परिवार र साथीहरूसँग रमाइलो खेल खेल्दा तनाव र चिन्तामुक्त भइन्छ भने शारीरिक रूपमा फिटसमेत रहन सकिन्छ । 

पार्कको परिदृश्य रमणीय छ । हरिया रूखहरू र सुन्दर फूलहरूले वातावरणलाई शान्त बनाउँछ र परिवारहरूलाई आफ्ना बच्चाहरूसँग घुम्नका लागि अझै लोभ्याउँछ । काठमाडौँको व्यस्त र धुलाम्मे जीवनशैलीमा व्यस्त भएका हामीहरूले फुर्सदको समय बिताउने सबैभन्दा पुरानो र स्वच्छ ठाउँ हो काठमाडौँ फन पार्क । 

काठमाडौँ फन पार्क एक विशाल खेल मैदान हो जहाँ धेरै मनोरञ्जनात्मक गतिविधिहरू संलग्न छन् । फन पार्कको प्रवेश द्वारको बायाँपट्टि टिकट काउन्टर रहेको छ । फन पार्कको टिकट एकदमै सस्तो छ । यस्तै विद्यार्थी, बालबालिकाहरू र वृद्धहरूका लागि विभिन्न छुटको व्यवस्था पनि गरिएको छ ।  

फन पार्कको बाहिर काटिने मात्रै प्रवेश शुल्क हो । यसबाहेक भित्र प्रत्येक खेलको पनि एक निश्चित मूल्य तोकिएको छ । 

यस्तै रमाइलो फन पार्क दृश्यात्मक रूपमा पनि आकर्षक देखिन्छ । त्यहाँ हरेक पाइलामा कार्टुन, मूर्तिहरू र भित्ते चित्रहरू देख्न सकिन्छ जसले बालबालिकाका लागि मुख्य आकर्षण हो ।


विभिन्न रमाइलो खेलहरूसँगै छेउछाउका पसलहरू पनि विशेष आकर्षित देखिन्छ । रोमाञ्चक र रमाइलो खेलबाहेक, पार्कले स्वादिष्ट खानाहरू, चिसो पेयहरू, आइसक्रिम र खाजा वा फुड कोर्टहरूको पनि व्यवस्था गरेको छ ।  

यसबाहेक फन पार्कमा तपाईंहरू आफूसँग खाना र पानी लग्न सक्नुका साथै परिवार र साथीहरूसँग पिकनिक पनि गर्न सक्नुहुन्छ । 

समाज कल्याण परिषद्सँग २०६९–३–१ मा भएको सम्झौताअनुसार सञ्चालनमा आएको यस गेम जोनमा सःशुल्क र निःशुल्क गरी करिब १२ दर्जनभन्दा बढी खेल छन् । काठमाडौँ फन पार्क ४२ रोपनी क्षेत्रफल ओगटेको छ । 

तीन वर्षको उमेर समूहका बालबालिकादेखि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू र अपाङ्गता भएका सम्पूर्ण मानिसलाई निःशुल्क प्रवेश र निश्चित क्षेत्र छुट्याएर उहाँहरूको सेवासुविधाको लागि निःशुल्क खेलको व्यवस्था गरिएको छ । 

फन पार्क बच्चाका लागि बिदाको दिन मुख्य आकर्षण हुने नै भयो तर यसबाहेक पनि फन पार्कको स्वच्छ, हरियाली वातावरण, इन्डोर, आउटडोर सबै उमेर समूहका मानिसका लागि उपयुक्त छ । 

जाडोे मौसम सुरु भएसँगै हरियाली आँखामा लिँदै घाम तापिरहेको मानिसको भीड पनि त्यहाँ देख्न सकिन्छ । गर्मी मौसममा चिसो हावा खानको लागि र फ्रेस हुनका लागिसमेत एकदमै शान्त वातावरण रहेको छ । 

अरू दिनको तुलनामा शनिबार धेरै भीड लाग्ने र लाइन बस्नुपर्ने हुन्छ । यस्तै मौसम अनुकूलअनुसार पनि पार्कमा धेरै मानिस आउने गर्छन् । 

फन पार्कमा रहेको करिब १२ दर्जन जति खेलमध्ये पनि जिप्पी प्लेलेन, स्ट्राइकिङ कारलगायतका निःशुल्क खेलहरू बच्चाको विशेष रोजाइँमा पर्ने गरेको छ ।

यी खेलहरूले जुनसुकै उमेर समूहका बच्चाहरूको भौतिक, शारीरिक, सामाजिक, शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । फन पार्कमा आउने हरेक बच्चाहरू खुसी भएर रमाएर अर्को पल्ट फेरि आउने प्रतिबद्धता जनाएर जाने गरेको छ ।

जाडोे मौसम सुरु भएसँगै हरियाली आँखामा लिँदै घाम तापिरहेको मानिसको भीड पनि त्यहाँ देख्न सकिन्छ। गर्मी मौसममा चिसो हावा खानका लागि र फ्रेस हुनका लागिसमेत एकदमै शान्त वातावरण रहेको छ। 

यस्तै त्यहाँ बच्चाहरूका लागि घोडा सवारी अत्यधिक मनपर्ने खेल हो । यो बच्चाहरूका लागि रमाइलो र रोमाञ्चक छ । यसबाहेक बच्चाहरूको लागि रमाइलो गर्नका लागि अर्को रमाइलो गेम ‘बोट राइडिङ’ पनि हो । यो गर्मीलाई हराउन सकिने उपयुक्त खेल हो । 

यसबाहेक दुई दर्जनमध्ये अन्य रमाइलो खेलहरूमा डक राइड, टि कप, स्लाइडिङ क्यास्टल, एरोप्लेन बाइक एन्ड कार, मिनी ट्रेन राइड, मारिगो राइड, हर्स राइडिङ, जुरासिक पार्क, चेयर राइडलगायत अन्य रमाइलो खेलहरू छन् । जसमध्ये निःशुल्क खेलहरू मात्रै एक दर्जनभन्दा बढीको व्यवस्था गरिएको छ । 

यसबाहेक फन पार्कले टिकट लाग्ने उमेर समूहका बालबालिका र विद्यार्थीका लागि बाह्रै महिना ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । पाँच वर्षभन्दा मुनिका बालबलिकाका लागि भने फन पार्कमा टिकट शुल्क लाग्दैन । उहाँहरूले पार्कका निःशुल्क खेलहरूको मजा लिन सक्छन् । 

फन पार्कभित्र शुल्क भने ४० रुपियाँदेखि १७० रुपियाँसम्मका विभिन्न खेल खेल्न सकिन्छ । काठमाडौँ फन पार्क हप्ताको ७ दिन बिहान १२ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहनेछ । हरेक दिन एकै समयमा यो पार्क खुल्ने र बन्द हुने गर्छ ।   


फन पार्कका मुख्य खेलहरु

जिप्पी प्लेलेन :

फन पार्कका विभिन्न खेलमध्येमा बच्चाहरूको पहिलो रोजाइँ जिप्पी प्लेलेन बनेको छ । जिप्पी प्लेलेन एक इन्डोर गेम हो । बच्चाहरूको सेवासुविधाअनुसार यस खेलमा बच्चाहरूलाई मनपर्ने स्लाइडिङदेखि स्विङसम्मको व्यवस्था रहेको छ । 

ठूलो ठाउँ ओगटेको जिप्पी प्लेलेनमा एउटै इन्डोरभित्र विभिन्न किसिमका खेल खेल्न पाइन्छ । अभिभावकहरूका  लागि कुर्सीहरूको पनि व्यवस्था रहेको छ । शौचालय, सरसफाइ र सेकुरिटीको पनि राम्रो व्यवस्था रहेको छ । जसकारण आकर्षण बढेको छ । 


स्ट्राइकिङ कार :

स्ट्राइकिङ कार पनि इन्डोर खेल हो जुन बच्चाहरूको विशेष रोजाइँमा पर्ने गरेको छ । यस खेलबाट बच्चाहरूले आफ्नो गाडी चलाउने कौशलको विकास गर्ने गरेको छ । यस खेलमा पनि बच्चाहरू गाडी घुमाउने र रमाउँदै खुसी हुने गरेका छन् । 

मिनी ट्रेन राइड :

काठमाडौँ फन पार्कमा रहेको मिनी ट्रेन राइड पनि वयस्क र बालबालिका दुवैले मन पराउने रमाइलो खेलमध्ये एक हो । यो एक छोटो रेल सवारी हो जसले हामीलाई पार्क वरिपरि घुमाउने काम गर्दछ । रेल सवारीको समयमा पार्कभित्र रहेका सबै मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । पार्कमा बालबालिका रेल चढ्दै गर्दा धेरै उत्साहित देखिन्छन् ।