• २९ वैशाख २०८१, शनिबार

दलहरूलाई एकदेखि बैसट्ठी प्रतिशतसम्म सफलता

प्रतिशतमा धेरै जित्ने कांग्रेस

blog

काठमाडौँ, मङ्सिर २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले आ–आफ्नो अनुकूल दुई ध्रुवमा विभाजित भई बढीभन्दा बढी निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गरे । केही दललाई अपेक्षाकृत नतिजा हासिल भयो, केही भने निर्वाचन परिणामपछि निराश देखिएका छन् तर निर्वाचन नतिजाले भने न्यूनतम एक प्रतिशतदेखि अधिकतम ६२ प्रतिशत निर्वाचन क्षेत्रमा जितेको देखिन्छ । 

अझै केही दल भने आमनिर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगमा दल दर्ता गरेर चुनावमा होमिए । ती दल कुनै ध्रुवमा विभाजित नभई एकल उम्मेदवारी दिँदै पहिलो पटक आमनिर्वाचनमा प्रतिस्पर्धा गर्दा केही हदसम्म सफल पनि भएका छन् । 

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्रमा दलहरूले स्पर्धा गरेका थिए । दुवै ध्रुवमा विभाजित दलले सिट बाँडफाँट गर्दा कुनै पनि दलले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएनन् । 

नेपाली कांग्रेसले नेतृत्व गरेको वाम–लोकतान्त्रिक गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सहभागी थिए । बाँडफाँटबमोजिम नेपाली कांग्रेसले ९१, नेकपा (माओवादी केन्द्र)ले ४६, नेकपा (एकीकृत समाजवादी)ले १८ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १७ सिटमा उम्मेदवारी दिने सहमति भएको थियो । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये सत्तारूढ गठबन्धनले ९० सिट जितेको छ, यो ५५ प्रतिशत हो ।

निर्वाचन परिणामबमोजिम नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ६२ प्रतिशत निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । नेकपा (माओवादी केन्द्र)ले १८ निर्वाचन क्षेत्रमा जित हात पार्दै ३९ प्रतिशत क्षेत्रको नतिजा आफ्नो पक्षमा पा-यो । नेकपा (एस)ले १८ मध्ये १० निर्वाचन क्षेत्रमा जित हात पारेर उम्मेदवारी दिएकोमध्ये ५५ प्रतिशत क्षेत्रमा सफलता पायो । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो तर गठबन्धनमा १७ सिटका लागि मात्रै तालमेल भयो । उसले चारवटा निर्वाचन क्षेत्रमा जित हात पा-यो । लोसपाले तालमेलबमोजिम उम्मेदवारी दिएकोमध्ये १३ प्रतिशत क्षेत्रमा सफलता पायो । तालमेलबमोजिम राष्ट्रिय जनमोर्चाले दुईवटा सिट पाएकोमा एउटामा जित र अर्कोमा हार बेहो-यो ।

नेकपा (एमाले) नेतृत्वमा भएको चुनावी तालमेलमा जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सहभागी थिए । नेकपा (एमाले)ले १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये ४४ मा जित हात पार्दै ३१ प्रतिशत निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पा-यो । 

राप्रपा नेपालले एक सिट पनि जित्न सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालसँग केही क्षेत्रमा मात्रै तालमेल भएको थियो । तालमेलसहित राप्रपाले १४० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । उसले सात निर्वाचन क्षेत्रमा जित हात पा-यो जुन उम्मेदवारी दिएको सङ्ख्याको पाँच प्रतिशत हो । 

जसपा नेपालले ७९ सिटमा उम्मेदवारी दिएकोमा सातवटा सिटमा जित हात पा-यो । उसले उम्मेदवारी दिएको कुल सङ्ख्याको ८.८६ प्रतिशतमा सफलता पाएको हो । 

निर्वाचनको पूर्वसन्ध्यामा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले १२७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उसले सातवटा निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पा-यो । कुल उम्मेदवारी दिएको पाँच प्रतिशत क्षेत्रमा उसले जित हात पा-यो । 

नागरिक उन्मुक्ति पार्टीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा तीन निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पा-यो । उम्मेदवारी दिएकामध्ये १० प्रतिशत क्षेत्रको परिणाम उन्मुक्तिको पक्षमा आएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक मात्र सिट जितेको नेपाल मजदुर किसान पार्टीले १०९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।