• ७ वैशाख २०८१, शुक्रबार

'१० मध्ये एक जना शिशु महिना नपुगी जन्मिन्छन्'

‘समय नपुगी जन्मिने शिशुको स्याहारमा विशेष ध्यान दिनुपर्छ’

blog

काठमाडौं, मंसिर १९ गते । विश्वमा १० जना नवजात शिशुमध्ये एक जना अवधि नपुगी (महिना नपुगी )जन्मिने गर्दछन् । अध्ययनका अनुसार प्रत्येक वर्ष करिब १० लाख बालबालिकाको अवधि नपुग्दै जन्मिएका कारण मृत्यु हुन्छ।

नेपालमा हरेक वर्ष आठ लाख १० हजार शिशु अवधि नपुगी जन्मिन्छन् । जसमध्ये चार हजार तीन सय अवधि नपुगी जन्मेका शिशुको पाँच वर्ष नपुग्दै विभिन्न कारणले मृत्यु हुन्छ ।

उच्च आय श्रोत भएका मुलुकको तुलनामा नेपाल जस्तो देशमा अवधि नपुगी जन्मिएका शिशुको बाँच्ने दर कम रहेको अध्ययनले देखाएको छ।

विशेष हेरचाह भए यस्ता शिशुको ७५ प्रतिशत मृत्युलाई रोक्न सकिने चिकित्सकको भनाइ छ। गर्भावस्थाको ३७ हप्ता पुरा हुनुअघि नै जन्मिएका शिशुलाई विश्व स्वास्थ्य सङ्गठनले ‘प्रिटर्म बर्थ’ भन्ने गरेको छ । 

काठमाडौं, मेडिकल कलेजका सहप्राध्यापक तथा बालरोग विशेषज्ञ डा. स्मृति माथेमाका अनुसार अवधि नपुगी जन्मने शिशुका अङ्गको पूर्णरुपमा विकास नहुने हुँदा विशेष हेरचाह आवश्यक हुन्छ।

नेपाल बाल चिकित्सा समाजका अध्यक्ष तथा बाल रोग विशेषज्ञ डा. गणेशकुमार राई अवधि नपुगी जन्मिएका नवजात शिशुमा विभिन्न स्वास्थ्य समस्या देखिने बताउनुहुन्छ । यस्ता बच्चामा अपाङ्गताका साथै पढाई लेखाइमा कमी, श्रवण शक्ति र दृष्टिमा समस्या आउने हुन्छ।

उहाँ भन्नुहुन्छ, “समय अगावै जन्मिएका शिशुमा शारीरिक र मानसिक विकास अन्य बच्चाको तुलनामा कम हुन्छ । त्यसैले सङ्क्रमण हुने सम्भावना बढी हुन्छ। आन्द्रा प्वाल पर्ने, आँखा कमजोर हुने, तौल कम हुने जस्ता समस्या देखिन सक्छन्।”

बाल रोग विशेषज्ञ डा. मेघा मिश्रा बज्राचार्यका अनुसार अवधि नपुगी जन्मिएका शिशुहरू कम तौल हुने भएकाले विशेष किसिमको हेरचाह आवश्यक पर्ने बताउनुहुन्छ।  

कसरी हुन्छ समय अगाडि नै बच्चाको जन्म ? 

आमा र बच्चा दुवैको कारणले समय अगावै बच्चा जन्मन सक्ने डा. माथेमाको भनाइ छ। उहाँका अनुसार बच्चा जन्मने समय अगावै बच्चा बस्ने पानी फुट्यो भने, आमाको प्रेसर बढी भएमा अथवा जुम्लिया बच्चा भए समय अगावै जन्मन्छन् ।

बच्चामा जन्मजात समस्या, इन्फेक्सन वा मुटुको समस्या छ भने समय अगावै जन्मन सक्ने डा. माथेमा बताउनुहुन्छ। 

गर्भवतीको उमेर २० वर्षभन्दा अघि र ३५ वर्षभन्दा बढी भए यस्ता शिशुको जन्म हुनसक्छ। आइरन, क्याल्सियम जस्ता सूक्ष्म पोषक तत्त्वको कमीले, विभिन्न सङ्क्रमण, व्यवहार र वातावरणीय कारण, धूम्रपान, मद्यपान, लागूपदार्थको सेवन, प्रदूषण गर्भवती महिलालाई कामको भार भएमा पनि समय अगावै शिशु जन्मन सक्ने माथेमाको भनाइ छ।

समय अगावै जन्मिएका शिशुमा सङ्क्रमण हुने सम्भावना धेरै हुन्छ। यस्ता शिशुको फोक्सोको वृद्धि विकास भइसकेको हुँदैन। त्यसले फोक्सो सम्बन्धी रोगको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ। 

माथेमाका अनुसारले कम तौलका बच्चाको शारीरिक विकास नभएकाले आमाको दूध तान्न नसक्ने हुँदा आमाको दूध चम्चाको माध्यमबाट खुवाउनुपर्छ। यस्ता बच्चालाई आमाको अँगालो अथवा 'कंगारु केयर'को आवश्यक पर्ने माथेमा बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “नवजात शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर राख्नाले शिशुलाई न्यानो हुन्छ। आत्मीयता बढ्छ, दूध बढी आउँछ र शिशुको वृद्धि र विकासमा सहयोग पुग्छ।”

स्तनपान गराउँदा सङ्क्रमण जन्य रोगबाट टाढा राख्ने र मृत्युबाट बचाउन सकिने डा. राईको भनाइ छ। उहाँ भन्नुहुन्छ, “अवधि नपुगी जन्मिएका शिशुलाई जन्मनासाथ आमाको छातीमा टाँसेर राख्दा विभिन्न किसिमका स्वास्थ्य समस्या तथा मुत्युबाटसमेत बचाउन सकिन्छ।” 


के हो कंगारु केयर ?

महिना नपुगी जन्मिएका, तौल कम भएका शिशुको शारीरिक तापक्रम सामान्य राख्न शिशुलाई स्याहारका लागि राख्ने मायाको अँगालो हो । चिकित्सकका अनुसार आमा वा परिवारका अन्य सदस्य र अवधि नपुगी जन्मेका शिशुलाई नाङ्गो छातीमा लगातार टाँसेर राख्दा शिशुलाई न्यानो हुनुका साथै विभिन्न सङ्क्रमण हुनबाट बचाउन सकिन्छ।

यसरी शिशुलाई राख्दा शिशुको श्वासप्रश्वासमा सहज हुनुको साथै तौलको वृद्धि तथा नव शिशुको विकासमा सहयोग पुग्ने डा. माथेमा बताउनुहुन्छ । मायाको अँगालोमा राखेमा समय नपुगी जन्मिएका शिशुलाई विभिन्न स्वास्थ्य जटिलताका साथै मृत्युबाट समेत बचाउन सकिने उहाँको भनाइ छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।