• १६ चैत २०८०, शुक्रबार

समाजको यथार्थ चित्रण

blog

चूडामणि काफ्ले नेपाली साहित्यका क्षेत्रमा परिचित नाम हो । उनको पहिलो प्रतिच्छाया नामक पहिलो कविता सङ्ग्रह बजारमा आएको छ । चौँतीसवटा कविता सङ्ग्रहित यस कविता सङ्ग्रहको पहिलो कविता अपहृत छोराहरू शीर्षकमा आफ्ना निर्दोष बालकहरू अपहरणमा परेको मार्मिक सन्दर्भलाई बडो रोचक शैलीमा प्रस्तुत गरिएको छ । यिनको सो कविता पहिलो कविता पनि हो, जुन  ३६ सालमा दृष्टिकोण पत्रिकामा छापिएको हो । धरती आकाश खोजिरहेछ नामक कवितामा कवि अत्यन्तै भावुक रूपमा प्रस्तुत भएका छन्, जसमा आधुनिकताले ल्याएको पीडादायी अवस्थाको चित्रण गरिएको छ । अर्को कविता सुन्दर फूलबारी कवितामा हतियारको होडबाजी, युद्ध, द्वन्द्व आदिले पारेको नकारात्मक अवस्थालाई । रोचक शैैलीमा पाठकसामु पस्किएका छन् । 

शुभ साइत कवितामा प्रकृतिको सौन्दर्यको बयान गर्दै शान्तिभूमि अनि बुद्धको जन्मस्थलमा युद्ध सुहाउँदैन भन्दै युद्धप्रति तीव्र रोष प्रकट गरेका छन् भने उपयुक्त चाहना नामक कवितामा पृथ्वीका समग्रतालाई नियाल्दै हाम्रा पौराणिक पात्रको चरित्रसँग तुलना गर्दै सगरमाथा चुम्ने तीव्र चाहना प्रकट गरेका छन् । मातृत्व कवितामा कवि सबैलाई कर्तव्यनिष्ट आह्वान गर्दै आपसमा एकताबद्ध भएर विकासपथलाई पक्रनुपर्छ भन्छन् । अर्को कविता पानीको सुवासभित्र पानीको महिमा वर्णन गरिएको छ भने विवेक कवितामा मानव भएपछि विवेकी बन्नुपर्छ भन्ने आदर्श विचार प्रस्तुत गर्न आम मानवलाई अनुरोधसमेत गरेका छन् ।  

किसान नामक कवितामा श्रम गर्न सधैँ तयार रहने कर्मजीवी किसान जो आफ्नो भाग्य सिर्जनामा तल्लीन भएर अहोरात्र पसिना बगाई अनाज उत्पादन गरी सबैलाई भरणपोषण गर्ने काममा लाग्ने कृषककै कारण देश मुस्कुराउँछ भन्छन् कवि काफ्ले । शान्तिक्षेत्र नेपालमा हामी नेपाली शान्तिकामी, कर्तव्यनिष्ठ र इमानदार छौँ भन्ने वास्तविकतालाई उजागर गरेका छन् । यात्रा कवितामा कवि पथिक बन्दै खराबीलाई हटाउँदै सुन्दर देश निर्माण गर्न हरपल तयार रहनुुपर्छ भन्दै सारा अवरोधहरू हटाउने हिम्मत गर्छन् । मेरो भक्तपुर नामक कवितामा भक्तपुरका श्रमजीवी कृषकले उत्पादन गर्ने तरकारी, उनीहरूको जाँगरको परिणाम देखेर कृषकलाई कर्मीमौरीको उपमा दिनपुगेका छन् कवि काफ्ले ।    

मोतीको स्मृति नामको कवितामा मोतीरामको छोटो जीवनमा उनले नेपाली साहित्यमा गरेको योगदानको चर्चा र काव्य सौन्दर्यको वर्णन गरेका छन् । जीवनको प्रतिस्पर्धामा कविले ऋतुहरूको वर्णन गर्दै पशुपालन गर्ने समस्त कृषकहरूलाई सलाम गर्दै समाजका विकृतिका बारेमा विमति राख्दै आशामा जीवन व्यतित गरेको वास्तविकता प्रष्ट पारेका छन् । कोरोना महात्म्यभित्र कविले सबै मानव घरभित्र थुनिनु पर्दाको उकुसमुकुसपूर्ण अवस्थाको  कारुणिक चित्रण गर्दै चीनबाट सुरु भएको कोरोना भाइरसले संसारभरका मानवलाई त्रसित बनाएको प्रसङ्गलाई यथार्थ पाराले उठाएका छन् । तिम्रो सम्झनामा कविले आफ्नी प्रियतमाको सम्झनाले व्याकुल भएको भए पनि उनी खुसी नै रहनु भन्ने शुभेच्छा र कामना गर्छन् । यस सङ्ग्रहको अन्तिम कविता आँशुको दह नामक कवितामा कवि अशिक्षा गाँजेको नेपाली समाजको वास्तविकता चित्रण गर्दै सो नमीठो सत्यताले मन कुँडिएको र त्रासदीपूर्ण दिनको यादले सताएको अनि एउटा फल दिने वृक्ष ढलेझैँ अनुभूतिले ज्यादै विक्षिप्त हुन पुगेका छन् ।   

समग्रमा प्रतिच्छाया कविता सङ्ग्रहमा समेटिएका कविता नेपाली परिवेश र हाम्रो समाजभित्रका विकृति, विसङ्गति, अशिक्षा, गरिबी जस्ता पक्षलाई राम्ररी केलाउँदै कविले आफ्नो कवित्व शिल्पीलाई उजागर गर्न सफल देखिन्छन् ।  यस कविताको मूल लक्ष्य भनेको शान्तिको चाहना कविमा छताछुल्ल भएका छन् । आगामी दिनमा थप रचनाहरू सिर्जना हुँदै जाऊन् । कविताले पाठकको मन तान्न सफल भएको छ । मिठासपूर्ण, पठनीय कविता र यसले लिएको सन्देश महìवपूर्ण रहेका छन् । á 

कृति : प्रतिछाया

विधा : कविता सङ्ग्रह  

कवि : चूडामणि काफ्ले 

प्रकाशक : वृन्दा काफ्ले

मूल्य : रु. १५० ।–