• ३० असोज २०८२, बिहिबार

क्रान्तिको आवाजलाई आत्मसात् गरौँ : गृहमन्त्री

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ३० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार अन्त्य, सुशासन कायम हुनुपर्नेलगायत नवयुवा (जेनजी) क्रान्तिले माग गरेको परिवर्तनको आवाजलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । 

गृह मन्त्रालय परिसरमा उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आन्दोलनले स्थापित गरेको सरकारलाई संवैधानिक प्रश्न उठाउन खोज्नु गम्भीर गल्ती हुने बताउनुभयो ।

वर्तमान सरकारलाई असंवैधानिक भन्नेहरूप्रति लक्षित गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनले विस्थापित गरेका कतिपयले परिवर्तनको मागलाई बेवास्ता गरी आन्दोलनरत पक्षलाई बदनाम गर्न खोजेको देखिन्छ । वर्तमान सरकार क्रान्तिपछि बनेको हो भन्ने आत्मसात् गरौँ ।” उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने मागसहित नवयुवाले गरेको विद्रोहलाई संस्थागत गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको रहेको बताउनुभयो ।

मन्त्री अर्यालले विगतमा राज्य संयन्त्रको दुरुपयोग गरी मापदण्डविपरीत सुरक्षाकर्मीको दुरुपयोग गरिएको थियो । उनीहरूले सरकारविरुद्ध भ्रम फैलाउन खोजेको बताउँदै राष्ट्रसेवक कर्मचारीलाई भान्से, ड्राइभर र घरायसी काममा लगाउनु गलत रहेको र त्यसलाई रोक्दा सरकारविरुद्ध खनिएको बताउनुभयो ।

शान्ति सुरक्षा थप सुदृढ बनाउन र मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकार गम्भीर रहेको बताउँदै उहाँले व्यक्तिगत रूपमा कसैलाई सुरक्षा चुनौती देखिए सरकारले तत्कालै सम्बोधन गर्ने पनि बताउनुभयो । 

उहाँले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइराखेको बताउँदै उहाँले त्यस्ता गतिविधि रोक्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

मुलुकमा सुशासन कायम गर्न जस्तोसुकै कठोर कदम चाल्न पनि सरकार तयार रहेको बताउँदै उहाँले भ्रष्टाचारमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइछाड्ने बताउनुभयो । उहाँले कारागारबाट फरार कैदीहरू र सुरक्षाकर्मीबाट लुटिएका हतियार नियन्त्रणमा लिन आवश्यक सुरक्षा कारबाही गरिने पनि बताउनुभयो । गृहमन्त्री अर्यालले जेनजीको आवरणमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा पुग्ने र अमर्यादित गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने पनि बताउनुभयो । 

उहाँले जेनजीको विद्रोह सुशासनका लागि रहेको बताउँदै कार्यालयमा गएर धम्क्याउने काम कानुनविपरीत र सुशासनविरोधी रहेकाले सरकारले आवश्यक निगरानी गरिरहेको पनि बताउनुभयो ।

यसैबिच गृहमन्त्री अर्यालले बुधबार कारागार व्यवस्था विभागको अनुगमन गरी देशभरका कारागारको सुरक्षाबारे जानकारी लिनुभएको छ । त्यस अवसरमा उहाँले कारागारको आन्तरिक सुरक्षा थप सुदृढ बनाउन निर्देशन दिँदै कारागारमा हुने गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि विभागलाई निर्देशनसमेत दिनुभएको छ ।