• ८ वैशाख २०८१, शनिबार

दक्षिण एसियामा कोरोना प्रभाव

blog

कोरोना सङ्क्रमणको निदान र उपचारको प्रविधि, कोरोनाविरुद्धको भ्याक्सिन र यसप्रतिको जनचासो र जनचेतनाको विकासले गर्दा पछिल्लो समय विश्वभरि कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यो परिवेशमा दक्षिण एसियामा पनि पछिल्लो समय यसको प्रभाव कम हुँदै गएको छ ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरका अनुसार कोरोनाका कारण दक्षिण एसियामा हालसम्म (२०२२ नोभेम्बर २५ सम्म) जम्मा ५,०४,०५,३९२ जना सङ्क्रमित भएका छन् भने ६,२७,६४६ जनाको यसैका कारण मृत्यु भइसकेको छ । त्यस अर्थमा हालसम्म दक्षिण एसियाको कुल जनङ्ख्याको २.६% मा कोरोना सङ्क्रमण भइसकेको छ भने ०.३३% को यसैका कारण ज्यान गइसकेको छ ।

स्मरण रहोस् दक्षिण एसियाको पछिल्लो जनसङ्ख्या करिब एक अर्ब नब्बे करोडभन्दा धेरै पुगेको छ । यहाँ विश्वका करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्छन् । यस क्षेत्र हाल विश्वकै उच्च जनसङ्ख्या र उच्च जनघनत्व भएको भौगोलिक क्षेत्र बनेको छ ।

पछिल्लो समय दक्षिण एसियामा दैनिक कोरोना सङ्क्रमण र मृत्यु निकै न्यून देखिन्छ, जुन औसतमा क्रमशः एक हजार र १० भन्दा कम रहेको छ । जुन विश्वको कुल दैनिक सङ्क्रमणको करिब ०.५% भन्दा कम र कुल दैनिक मृत्युको करिब १–२% जति हुन आउँछ । त्यस अर्थमा पछिल्लो समय दक्षिण एसियामा कोरोना सङ्क्रमण अन्यत्रभन्दा निकै कम र शान्त देखिन्छ । स्मरण रहोस् दक्षिण एसियामा कोरोना प्यान्डेमिकका ठूल्ठूला लहर आएका बेला दैनिक तीन–चार लाख नयाँ सङ्क्रमण र दैनिक चार हजारभन्दा धेरै नयाँ मृत्यु भेटिने गरेको थियो । एक समय यति धेरै कोरोना सङ्क्रमण भेटिएको र विश्वको यति धेरै जनघनत्व भएको क्षेत्रमा १% भन्दा कम दैनिक कोरोना सङ्क्रमण देखिनुले पनि हाल यस क्षेत्रमा कोरोना सङ्क्रमण निकै कम छ भन्ने पुष्टि हुन्छ ।

विश्वको कुल तथ्याङ्कसँग तुलना गर्दा हालसम्म दक्षिण एसियामा विश्वको कुल कोरोना सङ्क्रमणको करिब ७.९% सङ्क्रमण र कुल कोरोना मृत्युको करिब ९.५% मृत्यु देखिएको छ । त्यस्तै दक्षिण एसियामा एसियाको कुल सङ्क्रमणको करिब २५% सङ्क्रमण रहेको छ भने एसियाको कुल मृत्युको करिब ४२% कोरोना मृत्यु यसै क्षेत्रमा भेटिएको छ । त्यस अर्थमा दक्षिण एसियाको कोरोना सङ्क्रमणको तुलनामा मृत्यु अनुपात निकै धेरै रहेको छ । 

हालसम्म कोरोना सङ्क्रमण र मृत्यु सबैभन्दा धेरै देखिएको देश अमेरिकाको कोरोना तथ्याङ्कसँग दक्षिण एसियाको तुलना गर्ने हो भने यस क्षेत्रमा हालसम्म अमेरिकामा भन्दा कुल कोरोना सङ्क्रमण करिब आधा र कुल कोरोना मृत्यु करिब ६०% भेटिएको छ ।

विश्वका अन्य भौगोलिक क्षेत्रको तथ्याङ्क हेर्ने हो भने विश्वको कुल कोरोना सङ्क्रमणको युरोपमा करिब ३७% रहेको छ भने एसियामा करिब ३०.५%, उत्तर अमेरिकामा १८.५%, दक्षिण अमेरिकामा १०%, अफ्रिकामा २% र अस्ट्रेलियामा २% सङ्क्रमण देखिएको छ । त्यस्तै मृत्युको हकमा युरोपमा करिब २९.५%, उत्तर अमेरिकामा २३.५%, एसियामा २२.५%, दक्षिण अमेरिकामा २०%, अफ्रिकामा ४% र अस्ट्रेलियामा ०.५% भन्दा कम कोरोनाबाट मृत्यु भएको देखिएको छ ।

समग्रमा दक्षिण एसियाको कोरोना मृत्यु दर १.२५% देखिएको छ । अर्थात् दक्षिण एसियामा हालसम्म औसतमा प्रति १०० सङ्क्रमित १.२५ जना (प्रति १०,००० सङ्क्रमित १२५ जना) को कोरोनाका कारण मृत्यु हुने गरेको छ । विश्वको औसत कोरोना मृत्यु दर, ध्ज्इ को तथ्याङ्कअनुसार, करिब १.०४% रहेको छ भने एसियाको करिब ०.७६% रहेको छ, जुन दक्षिण एसियाको भन्दा निकै कम हो । अन्य क्षेत्रका कोरोना मृत्यु दर हेर्ने हो भने दक्षिण अमेरिकाको २%, अफ्रिकाको २%, उत्तर अमेरिकाको १.३%, युरोपको ०.८% र अस्ट्रेलियाको ०.१७% रहेको छ ।

माथिका तथ्याङ्कले के देखाउँछ भने दक्षिण एसियामा कोरोना सङ्क्रमण तुलनात्मक रूपले अन्यत्रजस्तै या केही कम भए पनि कोरोनाबाट  मृत्यु हुने भने यस क्षेत्रमा धेरै छन् । सायद यसको कारण यस क्षेत्रको गरिबी, अशिक्षा र कमजोर स्वास्थ्य सेवा नै हुनुपर्छ ।

सङ्क्रमण सङ्ख्याअनुसार हालसम्म (२०२२ नोभेम्बर २५ सम्म) दक्षिण एसियामा सबैभन्दा धेरै सङ्क्रमण क्रमशः भारतमा ४,४६,७०,८३०, बङ्गलादेशमा २०,३६,४४९, पाकिस्तानमा १५,७५,०३९, नेपालमा १०,००,८७५, श्रीलङ्कामा ६,७१,६१०, अफगानिस्तानमा २,०५,३९१, माल्दिभ्समा १,८५,५८४ र भुटानमा ५९,६१४ देखिएको छ ।

त्यस अर्थमा दक्षिण एसियामा विभिन्न देशको कोरोना सङ्क्रमण अनुपात हेर्ने हो भने, दक्षिण एसियाको कुल सङ्क्रमणमध्ये भारतमा ८८.६%, बङ्गलादेशमा ४%, पाकिस्तानमा ३.१%, नेपालमा २%, श्रीलङ्कामा १.३%, अफगानिस्तानमा ०.४%, माल्दिभ्समा ०.३७% र भुटानमा ०.१% सङ्क्रमण देखिएको छ ।

त्यस्तै कोरोना मृत्यु सङ्ख्याअनुसार हालसम्म सबैभन्दा धेरै मृत्यु क्रमशः भारतमा ५,३०,६०४, पाकिस्तानमा ३०,६३०, बङ्गलादेशमा २९,४३१, श्रीलङ्कामा १६,७९७, नेपालमा १२,०१९, अफगानिस्तानमा ७,८३३, माल्दिभ्समा ३११ र भुटानमा २१ मृत्यु देखिएको छ । त्यस अर्थमा दक्षिण एसियामा विभिन्न देशको कोरोना मृत्यु अनुपात हेर्ने हो भने दक्षिण एसियाको कुल मृत्युमध्ये भारतमा ८४.५%, पाकिस्तानमा ४.९%, बङ्गलादेशमा ४.७%, श्रीलङ्कामा २.७%, नेपालमा १.९%, अफगानिस्तानमा १.२%, माल्दिभ्समा ०.०५% र भुटानमा ०.००३% मृत्यु देखिएको छ ।

त्यस्तै प्रत्येक देशको आफ्नो जनङ्ख्याका आधारमा कोरोना सङ्क्रमणको अनुपात हेर्ने हो भने सबैभन्दा धेरै क्रमशः माल्दिभ्समा ३४.४%, भुटानमा ७.७%, नेपालमा ३.४%, श्रीलङ्कामा ३.३%,भारतमा ३.२%, बङ्गलादेशमा १.२%, पाकिस्तानमा ०.७% र अफगानिस्तानमा ०.५% जनसङ्ख्यामा सङ्क्रमण देखिएको छ । कोरोना मृत्युको हकमा प्रत्येक देशको आफ्नो जनसङ्ख्याको आधारमा सबैभन्दा धेरै क्रमशः श्रीलङ्कामा ०.०८%, माल्दिभ्समा ०.०६%, भारतमा ०.०४%, नेपालमा ०.०४%, बङ्गलादेशमा ०.०२%, अफगानिस्तानमा ०.०२% पाकिस्तानमा ०.०१% र भुटानमा ०.००३% जनसङ्ख्याको यसैका कारण मृत्यु भएको छ । 

त्यस्तै दक्षिण एसियाली देशमा कोरोना मृत्यु दर हेर्ने हो भने (सङ्क्रमण भएकामध्ये) सबैभन्दा धेरै क्रमशः अफगानिस्तानमा ३.८%, श्रीलङ्कामा २.५%, पाकिस्तानमा १.९%, बङ्गलादेशमा १.५%, भारतमा १.२% , नेपालमा १.२%, माल्दिभ्समा ०.२ % र भुटानमा ०.०४% देखिएको छ । 

माथिका तथ्याङ्कका आधारमा कुल कोरोना सङ्क्रमण सङ्ख्या, कुल कोरोना मृत्यु सङ्ख्या र कोरोना मृत्यु दरको हिसाबले भुटान सबैभन्दा अब्बल देखिएको छ । त्यस अर्थमा भुटानमा कोरोना प्यान्डेमिकको रोकथाम र नियन्त्रण निकै राम्रो देखिन्छ । नेपालमा कोरोना प्यान्डेमिकको समग्र स्थिति हेर्ने हो भने अन्य दक्षिण एसियाली देशसँग तुलना गर्दा सङ्क्रमण सङ्ख्या, मृत्यु सङ्ख्या, तिनीहरूको दक्षिण एसियाको कुल सङ्ख्यासँगको अनुपात, मृत्यु दर आदिको आधारमा सन्तोषजनक र औसतभन्दा माथि देखिन्छ ।