नेपाली कृषि क्षेत्रको पीडा हरेक वर्ष बर्खे र हिउँदे बाली लगाउने बेलामा चर्कने रासायनिक मल र बिउको अभावसँगै सतहमा आउँछ । तथ्याङ्क भन्छ, सरकारले बर्सेनि २० अर्ब रुपियाँभन्दा बढी अनुदानसहितको रासायनिक मल आयातमा खर्च गर्छ तर पनि धेरै किसानका हात खाली नै रहन्छन् । आयातमा खर्च भएको यो ठुलो धनराशि राष्ट्रिय ढुकुटीको दोहन मात्र होइन; यो हाम्रो माटो, स्वास्थ्य र भविष्यमाथि भइरहेको घातक लगानी हो ।
सरकारको काम नेपाली माटो स्वस्थ बनाउनु हो । रैथाने बालीलाई जोगाउनु हो । यसका लागि नीति बनाएरै कार्यान्वयन गरिनुपर्ने हो । त्यसो गर्नुको सट्टा, उत्पादन बढाउने नाममा रासायनिक मल आयात गरी माटो बिगारिएको छ । ‘हाइब्रिड बिउ’ भन्दै वातावरण प्रतिकूल बिउ ल्याएर स्थानीय बालीका रैथाने बिउ मास्न थालिएको छ । सरकारको काम र जनताको सन्तुष्टि–हाम्रो जस्तो कृषिप्रधान देशको पवित्र माटोमा गरिने अन्यायसँग जोडिनु महाभूल नै हो । यसले हाम्रो माटोको मौलिक गुण नष्ट गरी भविष्यमा हाम्रा जग्गा बाँझो रहने सम्भावना बढाएको छ । यसबाहेक मल आयातको टेन्डर प्रक्रियामा
हुने अनियमितता र भ्रष्टाचारले राजनीतिक तथा प्रशासनिक तहमा एउटा निहित स्वार्थ समूहसमेत सिर्जना गरेको छ जसले यो आत्मघाती चक्रलाई प्रोत्साहन र निरन्तरता दिइरहेको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा–बर्सेनि ‘समयमै रासायनिक मल र बिउ उपलब्ध गराउनु पर्छ’ भनेर किसानले सरकारसँग गर्ने माग नै आत्मघाती छ । यो मागले हामीलाई परनिर्भरता र वातावरणीय क्षतिको दुष्चक्रबाट बाहिर निस्कन दिँदैन । जब हामी रासायनिक मल माग्छौँ, तब हामी थप विष र थप परनिर्भरताका लागि बाटो खोलिरहेका हुन्छौँ । किसानको उत्पादन स्वस्थ नभएपछि उपभोक्ता–जनता अस्वस्थ हुने नै भए । विडम्बना त के छ भने, सरकारले मलमा गरेको अनुदानभन्दा कैयौँ गुणा बढी पैसा विषादीको प्रयोगका कारण उपभोक्ताको स्वास्थ्य उपचारमा (क्यान्सर, मिर्गौला फेल आदि) अप्रत्यक्ष रूपमा खर्च भइरहेको छ । यसको अर्थ, हामी अनुदान दिएर आफ्नो स्वास्थ्यलाई विष किन्न प्रोत्साहित गरिरहेका छौँ । सरकार, किसानलाई मल, बिउ, विषादीको बन्दोबस्त गरिदिएर जाती हुने । किसान तिनैलाई प्रयोग गरेर अस्वस्थ खाद्य पदार्थ उत्पादन गरेर मक्ख पर्ने ! यसरी, देशै अस्वस्थ भइरहेको कुरा थाहै नपाएको कि बुझ पचाइएको होला !
हाम्रा किसानले अन्धाधुन्ध रूपमा प्रयोग गर्ने गरेको रासायनिक मलले माटोको प्राङ्गारिक पदार्थ (जुन स्वस्थ माटोका लागि दुईदेखि पाँच प्रतिशत हुनु पर्छ) र लाखौँ सूक्ष्म जीवलाई नष्ट गर्दै छ, जसले गर्दा माटो अम्लीय बनेर बाँझो हुँदै गएको छ । अहिले मलबिना बाली नै नहुने अवस्था आउनुको मुख्य कारण यही रासायनिक मलको प्रयोग गर्ने बानी नै हो । यता हाइब्रिड बिउले किसानको बिउ जोगाउने र छनोट गर्ने पुख्र्यौली अधिकार खोसेको छ, जसले हाम्रो कृषि–जैविक विविधताको भण्डारलाई पनि जोखिममा पारेको छ । रासायनिक विषाक्तताले गर्दा उत्पादित खाद्यान्नको पोषणयुक्त गुण घट्छ र यसले मानव स्वास्थ्यमा क्यान्सर जस्ता गम्भीर रोगको जोखिम बढाइरहेको छ । अब हामीले ‘माटो जोगाऊँ, मल आफैँ बनाऊँ’ बिउ जोगाऊँ, आफ्नो स्वास्थ्य बचाऊँ” अभियान सुरु गर्नैपर्ने भएको छ ।
यसका लागि अब हामीले हाम्रै स्थानीय रैथाने बिउ र कम्पोस्ट तथा प्राङ्गारिक मल, झोल मलको शक्तिलाई पुनस्र्थापित गर्नु पर्छ । मानव मलको प्रयोग पनि गर्न सकिन्छ । गाईवस्तुको गोबर, झारपात र भान्साको फोहोरबाट बन्ने प्राङ्गारिक मलले माटोलाई चाहिने सबै पोषक तìव दिन्छ, माटोलाई जीवित राख्छ र यसले माटोको पानी धारण गर्ने क्षमता पनि बढाउँछ । यो मल प्रयोग गर्दा किसानको उत्पादन लागत घट्छ र देशको अर्बौं रुपियाँ बिदेसिनबाट जोगिन्छ । रैथाने बिउ स्थानीय वातावरण अनुकूल, रोग प्रतिरोधी र उच्च पोषणयुक्त हुन्छन् । सामुदायिक बिउ बैङ्कमार्फत यसको संरक्षण गर्नु भनेको दीर्घकालीन खाद्य सुरक्षाको ग्यारेन्टी गर्नु हो । नेपालको मध्य पहाड वा केही हिमाली भेगका किसानले रासायनिक मलको प्रयोग छाडेर प्राङ्गारिक कृषि अपनाउँदा उच्च गुणस्तरको उत्पादन प्राप्त
गरेको र उनीहरूको जीवनस्तरसमेत सुधारिएको उदाहरणले यो परिवर्तन सम्भव छ भन्ने पुष्टि गर्छन् । यसका लागि ठुलो वैदेशिक सहयोग वा जटिल प्रविधि होइन, केवल परम्परागत ज्ञान, पाका किसानका अनुभवको प्रचारसँगै सरकारी इच्छाशक्तिको खाँचो छ ।
अबका दिनमा सरकारले मलमा अनुदान दिएर किसानलाई परनिर्भर बनाउने नीति तुरुन्त त्याग्नु पर्छ । उक्त बजेट प्राङ्गारिक कृषि, रैथाने बिउ संरक्षण तथा स्थानीय मल उद्योग स्थापनामा लगाउनु पर्छ । केन्द्र सरकारको नीति र निर्देशनमा स्थानीय सरकारले यो काम गर्न सक्छन् । प्रत्येक स्थानीय तहमा प्राङ्गारिक कृषि प्रसार केन्द्र स्थापना गरी माटो परीक्षण, जैविक मल उत्पादनको तालिम तथा प्राङ्गारिक उत्पादनलाई बजारसँग जोड्ने कार्यमा यो अनुदानको रकम खर्च गरिनु पर्छ । जीवनदाता किसानले पनि आफ्नो माटो, स्वास्थ्य र भविष्यको हितमा आत्मघाती माग त्याग्नु पर्छ । जब हामी हाम्रै बिउ र हाम्रै मल प्रयोग गर्छौं, तब मात्र हाम्रो माटो जोगिन्छ र हामी स्वस्थ जीवन बाँचिरहेका हुन्छौँ । यो परिवर्तनको जिम्मा उपभोक्ताको पनि हो । उपभोक्ताले जबसम्म रासायनिक मलले फलाएको सस्तो तर विषालु उत्पादनलाई बहिष्कार गर्दैनन् र प्राङ्गारिक उत्पादनको उचित मूल्य तिर्न तयार हुँदैनन्, तबसम्म किसानलाई परिवर्तनका लागि प्रोत्साहन मिल्दैन ।
अबको सङ्घर्ष रासायनिक मलको उपलब्धताका लागि होइन, माटोको स्वाधीनता, आत्मनिर्भर जीवन र स्वस्थ पुस्ताको निर्माणका लागि हुनु पर्छ ।