• ९ कात्तिक २०८२, आइतबार

शिशु विकासको पवित्र उद्देश्य

blog

विकासात्मक मनोविद्का अनुसार मानिसको मस्तिष्क विकासका दृष्टिले तीन वर्षसम्मको उमेर उर्वर र महìवपूर्ण मानिन्छ । यो उमेर व्यक्तित्व विकासको आधार हो । नेपालमा चार वर्ष पूरा नभएका बालबालिकाका लागि शिशु विकास वा स्याहार केन्द्रमा राखी सर्वाङ्गीण विकासका क्रियाकलाप गराउन सकिने नीतिगत व्यवस्था रहेको छ । नीतिगत व्यवस्था र विद्यमान अभ्यासबिच सङ्गति देखिँदैन । शिशु विकास/स्याहारसम्बन्धी नीतिगत व्यवस्था, कार्यान्वयन अवस्था र सुधारका सम्भाव्य उपायबारे बहस गर्नु जरुरी भएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा अङ्गीकार गरेको छ । प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकास र प्रारम्भिक बालविकासको हक हुने उल्लेख छ । शिक्षा ऐन, २०२८ ले शिशु विकास केन्द्रको स्थापना र सञ्चालनबारे सङ्केतसम्म गरेको छ । शिक्षा नियमावली, २०५९ मा चार वर्ष पूरा नभएका बालबालिकालाई शारीरिक, मानसिक वा बौद्धिक शिक्षा दिनका लागि शिशुविकास केन्द्र स्थापना गर्न सकिने व्यवस्था छ । शिशु विकास केन्द्रका लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र बाह्य वातावरण बारे उल्लेख हुनुका साथै अनुदान र पाठ्यक्रमबारे पनि उल्लेख छ । 

राष्ट्रिय शिक्षा नीति, २०७६ मा बालविकास तथा स्याहार केन्द्रसम्बन्धी विस्तृत प्रावधान छन् । नीतिमा नेपाल सरकारले तोकेको सर्त र मापदण्ड अनुरूप स्थानीय तहको अनुमति वा स्वीकृतिमा बाल विकास तथा स्याहार केन्द्रको व्यवस्थापन गरी बाल विकास कार्यक्रम सञ्चालन गर्ने नीति रहेको छ । बाल विकास तथा स्याहार केन्द्रमा बालबालिकाको सुरक्षा, पोषण, खेल (सामग्री र स्थान), शयनस्थल, भवन, कक्षाकोठालगायतका आवश्यक भौतिक पूर्वाधार, बालस्याहार तथा सिकाइ सहजीकरण गर्ने जनशक्तिको योग्यता र सिकाइ सहजीकरण प्रक्रियासँग सम्बन्धित विभिन्न पक्षको राष्ट्रिय मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने र बाल विकास तथा स्याहार केन्द्रको स्थापना र सञ्चालन गर्ने व्यवस्था मिलाइने उल्लेख छ । प्रत्येक वडा वा टोलमा बालबालिकालाई खेल्ने र मनोरञ्जन गर्ने सामग्रीसहितको बाल उद्यानको व्यवस्था गरिने नीति छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा चार वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई शिशु विकास केन्द्रबाट शारीरिक, मानसिक वा बौद्धिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप सञ्चालन गर्न सकिने उल्लेख छ । 

उल्लिखित नीतिगत व्यवस्था हेर्दा चार वर्षभन्दा मुनिका बालबालिकाको सर्वाङगीण विकास, पोषण, सुरक्षा र स्याहारका लागि शिशु विकास वा स्याहार केन्द्र स्थापना र सञ्चालन गर्न सकिने प्रावधान रहेको देखिन्छ । यस्ता केन्द्रमा बालबालिकाको सर्वाङ्गीण विकासका क्रियाकलाप सञ्चालनका लागि आवश्यक सिकाइ तथा बाहिरी र भित्री खेल सामग्रीको व्यवस्था हुन्छ । ती सामग्रीकै माध्यमबाट बालबालिकालाई विभिन्न क्रियाकलापमा सरिक गराई उनीहरूलाई भाषा, गणित, विज्ञान, सामाजिक र वातावरणीय पक्षको अवधारणा दिइन्छ । पढ्ने र लेख्ने कार्य गराइँदैन । विशुद्ध विकास र स्याहारका क्रियाकलाप सञ्चालन गरिन्छ । सहजकर्ताका लागि मापदण्ड/क्रियाकलाप सञ्चालन पुस्तिका हुने भए पनि बालबालिकाको लागि पाठ्यपुस्तक हुँदैन । यससम्बन्धी उन्नत प्रणाली रहेका जापान, फिनल्यान्ड र अन्य युरोपेली मुलुकमा छ वर्षदेखि मात्र पढाइ लेखाइका क्रियाकलापमा संलग्न गराउने व्यवस्था छ । 

नेपालमा शिशु विकास र स्याहार केन्द्रको स्थापना र सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था र कार्यान्वयनबिच मेल खाँदैन । शिशु विकास र स्याहार केन्द्रको स्थापना र सञ्चालनसम्बन्धी उल्लिखित व्यवस्था अनुसार कार्यान्वयन तहका लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधार, सिकाइ सामग्री, स्वास्थ्य र पोषणको उपयुक्त व्यवस्था, शयनस्थल, सहजकर्ताको योग्यता र तालिम तथा सहयोगीको सम्बन्धमा स्पष्ट मार्गदर्शन हुने गरी राष्ट्रिय स्तरको मापदण्डको निर्माण हालसम्म पनि हुन सकेको छैन । 

पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रम प्रयोग गर्नुपर्ने व्यवस्था भए पनि हाल आएर एउटा सहयोगी पुस्तिका निर्माण त गरिएको छ तर यसको कार्यान्वयन तहसम्म प्रबोधीकरण र यससम्बन्धी तालिमको व्यवस्था हुन सकेको छैन । शिशु विकास र स्याहारको कार्य अन्तरसम्बन्धित विषय भएको हुँदा शिक्षा, स्वास्थ्य र बालबालिकासम्बन्धी विषय हेर्ने मन्त्रालयसँग यसको कार्यक्षेत्र प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ । नीति, योजना र कार्यक्रमको निर्माण तथा बजेट विनियोजन र कार्यक्रम सञ्चालनमा समन्वयको अभाव देखिन्छ । शिशु विकास तथा स्याहारका क्षेत्रमा सरकारी क्षेत्रबाट पर्याप्त लगानी हुन सकेको छैन ।

निजी लगानीमा विभिन्न नाममा खुलेका पूर्वप्राथमिक प्रकृतिका अधिकांश कक्षामा दुई साढे दुई वर्षकै उमेरका बालबालिका भर्ना गरेर पढाउने, घोकाउने, कण्ठ गराउने र यस्तै प्रकृतिका गृहकार्य दिएर बालबालिकालाई किताबी ज्ञानमा केन्द्रित गर्ने कार्य हुँदै आएको पाइन्छ । पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तकको बर्सौंदेखि स्वच्छन्द ढङ्गले प्रयोग हुँदै आएको पाइन्छ । हाल आएर नेपाल सरकारबाट अनुदानप्राप्त गर्ने सार्वजनिक विद्यालयले समेत नर्सरी, एलकेजी र युकेजी नामका कक्षा सञ्चालन र त्यस्ता पाठ्यपुस्तकबाट पठनपाठन गर्ने गरेको पाइन्छ । यसबाट बालबालिकाको प्रारम्भिक बालविकासको हक र अन्तरनिहित प्रतिभा एवं व्यक्तित्व विकासको सम्भावना कुण्ठित हुनुका साथै सर्वाङ्गीण विकास अवरुद्ध हुने र अभिभावकमा अनावश्यक आर्थिक भार पर्ने हुन्छ ।

व्यक्तित्व विकास र गुणस्तरीय शिक्षाका दृष्टिले आधारशिलाको रूपमा रहेको चार वर्षसम्मको उमेरका बालबालिकालाई सर्वाङ्गीण विकासका क्रियाकलापमा अधिकाधिक सहभागी हुने अवसर दिनु पर्छ । यसका लागि शिशु विकास तथा स्याहार केन्द्रको स्थापना र सञ्चालनसम्बन्धी राष्ट्रिय मापदण्डको निर्माण गरी स्थानीय तहलाई सहजीकरण गर्नु पर्छ । शिशु विकास तथा स्याहार अन्तरसम्बन्धित विषय भएकाले यसको व्यवस्थापन एकीकृत प्रारम्भिक बालविकासको अवधारणा अनुरूप हुनु पर्छ । सिकाइ र विकासको दृष्टिबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट भएका व्यवस्था र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भएका स्वास्थ्य र पोषणसम्बन्धी कार्यक्रम तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चालन भइरहेका बालकल्याण तथा बाल अधिकारसम्बन्धी कार्यक्रमबिच प्रभावकारी समन्वय हुनु पर्छ ।

शिशु विकास केन्द्रमा बालबालिकाको पोषण, स्वास्थ्य र सरसफाइको अवस्थामा सुधार गर्न र सिकाइ तथा विकासका क्रियाकलाप सञ्चालन गर्न दक्ष र तालिम प्राप्त सहजकर्ता र एउटा सहयोगीको व्यवस्था गर्नु पर्छ । तत्काल सहजकर्ताका लागि प्रमाणीकरण तालिमको व्यवस्था र दीर्घकालीन रूपमा शिशु विकास र स्याहारसम्बन्धी विषय उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरी यससम्बन्धी दक्ष जनशक्ति तयार गर्नु पर्छ । चार वर्ष उमेर पूरा नभएका बालबालिका भर्ना गरी सञ्चालन गरिएका विभिन्न नामका कक्षामा राष्ट्रिय मापदण्डले निर्धारण गरेका न्यूनतम भौतिक पूर्वाधारको व्यवस्था, खेलमैदान र खेल सामग्री, सफा र शुद्ध पिउने पानी, सरसफाइ सामग्रीसहितको शौचालय, शयनस्थल, खेल तथा सिकाइ सामग्रीको व्यवस्था गर्न लगाई सर्वाङ्गीण विकासका क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था गर्नु पर्छ । शिशु विकास तथा स्याहार केन्द्रको सञ्चालनमा प्रदेश, स्थानीय तह र गैरसरकारी क्षेत्रबाट लागत साझेदारी र अभिभावकको सचेतना अभिवृद्धि गर्नु पर्छ ।

नयाँ स्थापना गरिने शिशु विकास तथा स्याहार केन्द्रमा आवश्यक पूर्वाधार र तालिम प्राप्त जनशक्तिको व्यवस्था भएपछि मात्र सञ्चालन अनुमति दिने व्यवस्था गर्नु पर्छ । स्थानीय तहका शिक्षा सम्बद्ध कर्मचारीका लागि राष्ट्रिय मापदण्डको अभिमुखीकरण र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी अनुगमन र नियमन प्रभावकारी बनाउनु पर्छ । शिशु विकास तथा स्याहार केन्द्रमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत सिकाइ सामग्री मात्र प्रयोग र सिकाइ तथा विकासका क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था गर्नु पर्छ । 

अन्त्यमा चार वर्षभन्दा कम उमेरका बालबालिकालाई मनोरञ्जनात्मक क्रियाकलाप र खेलका माध्यमबाट सिकाइ र विकासको अवसर दिनु पर्छ । घोकाउने, कण्ठ गराउने र यस्तै प्रकृतिका गृहकार्य दिने विद्यमान अभ्यासले बालबालिकाको सिर्जनशीलता, अन्तरनिहित प्रतिभा र सम्भावनालाई कुण्ठित गर्छ । शिशु विकास वा स्याहार केन्द्रसम्बन्धी नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन र यसमा सरकारी क्षेत्रबाट पर्याप्त लगानी गर्नु पर्छ ।