• ७ वैशाख २०८१, शुक्रबार

साहित्यकारत्रय पुरस्कृत

blog

काठमाडौँ, मङ्सिर २ गते । नारी स्रष्टा समाज, प्रदेश–१ विराटनगरले विभिन्न विधाका साहित्यकारलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ। समाजद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकारत्रय तुलसीहरि कोइराला, भीष्म उप्रेती र विनोद नेपाललाई पुरस्कृत गरिएको हो। 

समाजका अध्यक्ष ममता मृदुलको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार कोइरालालाई मोहनलता विशिष्ट स्रष्टा सम्मान र १५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो। त्यसैगरी साहित्यकार उप्रेतीलाई कविराज स्रष्टा सम्मानसहित ११ हजार रुपियाँ नगद र विनोद नेपाललाई हेमलता स्रष्टा सम्मानसहित ११ हजार रुपियाँ नगद, नारी स्रष्टा पदक, सम्मानपत्र तथा दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो। 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले नारी स्रष्टा समाजले महिलाका साथै पुरुष सर्जकलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरेर समानताको अभ्यास गरेको बताउनुभयो।  साहित्यकार महेश प्रसाईले पुरस्कृत सर्जकहरूबारे परिचयात्मक मन्तव्य दिँदै ४० को दशकका शब्द, अक्षर सिर्जनाका शक्तिशाली तीन जना हस्तीलाई समाजले चिनेर पुरस्कृत गरेको बताउनुभयो। 

सम्मानित स्रष्टा तुलसीहरि कोइरालाले साहित्यकार लता गिरीको ८४औँ जन्मदिनमा पुरस्कृत हुन पाउँदा खुसी लाग्नुका साथै सिर्जनाकर्मलाई निरन्तरता दिन ऊर्जा मिलेको बताउनुभयो। अर्का पुरस्कृत सर्जक भीष्म उप्रेतीले रहरले सुरु गरेको साहित्यिक कर्म जिम्मेवारीमा परिणत भएको बताउँदै सम्मान पुरस्कारले जवाफदेही बन्न पनि प्रेरणा मिल्ने बताउनुभयो। त्यस्तै साहित्यकार विनोद नेपालले आफूले प्राप्त गरेको नगद राशि नारी स्रष्टा समाजलाई नै समर्पण गर्दै नेपालमा साहित्यिक संस्थाको गतिविधिलाई निरन्तरता दिन धेरै नै मेहनत तथा समर्पणभाव आवश्यकता पर्ने विचार व्यक्त गर्नुभयो। 

कार्यक्रममा समाजले सर्जकहरू राधेश्याम लेकाली, मञ्जिला अनिल, बिन्दु अधिकारी ढकाल, रीता खत्री, मीना श्रेष्ठ र निर्मला मुरारीलाई नारी स्रष्टा समाज सम्मान, पदक तथा दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो। नारी स्रष्टा समाज, विराटनगरकी अध्यक्ष ममता मृदुलले आफ्नी आमा लता गिरीको ८४औँ जन्मदिन साहित्यकारहरूमाझ मनाउने उद्देश्यले राजधानीसम्म आएर कार्यक्रम आयोजना गर्नुभएको हो।