• ८ वैशाख २०८१, शनिबार

मतदाता शिक्षामा कलाकार

‘मतदान गर्न जागौँ, उठौँ सारा’

blog

काठमाडौं, मङ्सिर १ गते। 

मतदान गर्न जागौँ, उठौँ सारा

राज्यले दिएको हाम्रो अधिकार

हाम्रो एक भोटले देशको मुहार फेरिन्छ।

विकास र समृद्धिको रेखा कोरिन्छ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मतदान वा मतदाता शिक्षा बारे विभिन्न श्रव्यदृश्य सामाजिक सञ्जालमा देखिएका छन्। यसरी मतदाता शिक्षाको बारेमा जानकारी दिनका लागि निर्वाचन आयोगले विभिन्न तरिका अपनाएका छन्। आयोगले विभिन्न कलाकारलाई समेटेर निर्वाचन र मतदानको महत्त्व, आचारसंहिताका व्यवस्थाका मतदाता शिक्षाका बारेमा सन्देश प्रवाह गरिरहेको छ। 

यस्तै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकार सीताराम कट्टेल, कुञ्जना घिमिरे, (धुर्मुस–सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपाश्री निरौला, पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरीमा पनि मतदाता शिक्षा सन्देशका रूपमा निर्वाचन आयोगले प्रस्तुत गरेको देखिन्छ।

निर्वाचन र मतदाता शिक्षा प्रवाह गर्नुमा कलाकाको पनि प्रमुख भूमिका रहन्छ। पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो तर यस पटक भने त्यस्तो व्यवस्था छैन। कलाकारले सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा सम्बन्धी सन्देश पस्किरहेका छन्।

निवार्चन, मतदाता शिक्षा र कलाकार

हास्य कलाकार उत्तम केसीलाई यसपालिको निर्वाचन खासै उत्साहजनक लागेको छैन। उहाँ भन्नुहुन्छ, “म आफैँ पनि यसपालिको निवार्चनप्रति त्यति उत्साहित छैन। तर, आफ्नो मताधिकार भने प्रयोग गर्छु।”

राजनीतिक पार्टीको वितृष्णा जागेर स्वतन्त्र पार्टीहरू जागेको अवस्थामा मतदान गर्नुपर्ने उहाँको भनाइ छ। “निर्वाचन आयोगले मतदाता शिक्षा प्रणालीको लागि थुप्रै बजेट विनियोजन गरेको छ भन्ने सुनेको छु। तर, पनि नेपाली समाजमा मतदातालाई मत हाल्ने शिक्षा शून्य छ”, उहाँ भन्नुहुन्छ, “चार वटा मतपत्रमा चार वटा भोट हाल्नुपर्छ भन्ने थाहा छ तर हामी जानेका र बुझेकालाई नै गाह्रो छ मतदान गर्न। यस अवस्थामा गाउँमा झनै मतदाता शिक्षा कमजोर हुने गरेको पाइन्छ।”

यस्तै, निर्वाचनलाई लक्षित गर्दै कलाकारले मतदान सम्बन्धी जनचेतना फैलाउन विभिन्न श्रव्यदृश्यको प्रवाह गरिरहनुभएको छ। तर, पनि सरकारी स्तरबाट हुनुपर्ने काम नभएको कलाकारको गुनासो छ। 

अभिनेत्री दीपाश्री निरौलाले विराटनगर क्षेत्र नं ६ बाट मतदान गर्ने जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ, “नेपाली समाजमा मतदान र मतदाता शिक्षाको बारेमा ज्ञान शून्य छ। आफ्नो मताधिकारको सदुपयोग हामीले अझै पनि गर्न सकेका छैनौँ।” 

जनताले हाम्रो मान्छेभन्दा पनि राम्रो र देश विकास गर्नेलाई आफ्नो अमूल्य मत दिनुपर्ने उहाँको मान्यता रहेको छ। “म पार्टी हैर्दिन, मान्छे हेर्छु। जुनसुकै पार्टीबाट होस् त्यो सरोकार भएन, आफ्नो क्षेत्रलाई राम्रो बनाउने मान्छे हुनुपर्छ,” उहाँले भन्नुभयो। 

उहाँका अनुसार कलाकारले मतदान शिक्षा दिनको लागि विभिन्न भिडियो सामग्री प्रस्तुत गरेका छन्। मत बदर हुने प्रक्रिया, मत किन्नेदेखि सावधान रहने र काम गर्ने मानिसलाई मतदान कसरी गर्ने भन्ने शिक्षा दिने प्रयास गर्दै कलाकारले श्रव्यदृश्य तयार गरेर प्रवाह गरिरहेको उहाँको भनाइ छ। 

मतदान हैन र सचेत मतदान गरौँ

नायिका करिश्मा मानन्धर काठमाडौं क्षेत्र नम्बर ५ बाट मतदान गर्दै हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “मतदान गर्नु हाम्रो अधिकार हो। यसको प्रयोग हामी सबैले गर्नुपर्छ। दलगत पद्धति भएको हाम्रो देशमा मतदान अनिवार्य आवश्यक रहेको छ। सामाजिक सञ्जालमा धेरै टिप्पणी गरेका मानिस पनि मतदान गर्न मतदान स्थल पुग्दैनन्।” 

युवामा पनि मतदानको महत्त्वको बारेमा जागरूकता नभएको उहाँको भनाइ छ। “यस्ता युवा पुस्तासमेत छन् जसले मतपत्र नै बनाएका छैनन्। जिम्मेवार पदमा भएका व्यक्तिको पनि मतपत्र छैन”, उहाँ भन्नुहुन्छ, “आफ्नो मतको महत्त्व हामी सबैले बुझेका छैनौँ र मतदानप्रति हामी हरेक नागरिक सचेत पनि छैनौँ।” 

कलाकार मात्रै नभएर हरेक नागरिकले राजनीतिमा चासो राख्नुपर्ने उहाँ बताउनुहुन्छ। “आफूले जानेको कुरा दर्शकलाई सिकाउँदै सचेत भएर मतदान गर्न म आग्रह गर्छु,” उहाँ भन्नुहुन्छ, “कतिपय ठाउँमा अरूले भनेको भरमा मतदान गरिन्छ, यसरी कुनै पनि क्षणिक लोभमा आफ्नो अधिकारको दुरुपयोग नगरौँ। गलत मताधिकारको प्रयोगले अबको पाँच वर्षको लागि हाम्रो घरदैलोमा कुनै पनि विकास हुन सक्दैन।” 

अभिनेता मुकुन भुसालले अर्घाखाँची, प्रदेश ‘ख’ बाट आफ्नो मत खसाल्ने जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता शिक्षामा कलाकारको ठूलो भूमिका रहेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “विशेष गरेर मतदाता शिक्षा वृद्धवृद्धलाई दिनुपर्ने हो। मतदान शिक्षा आजभोलि सामाजिक सञ्जाल अर्थात् इन्टरनेटको माध्यमबाट बढी प्रवाह हुने गरेको छ। तर, वृद्धवृद्धाहरु सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्न। जसले गर्दा मतदान शिक्षामा अझै पनि कमी आएको जस्तो लाग्छ।” उहाँका अनुसार निर्वाचन निरन्तर प्रक्रिया हो। आगामी दिनमा पुरानै पाँच वर्ष जस्तो भयो भने देशको विकास सम्भव नहुने उहाँको भनाइ छ। 

आफैँ सचेत हुनुपर्छ

नायिका वर्षा राउतलाई देशको लागि युवा पुस्ता राजनीतिमा सक्रिय भएको देखेर खुसी लागेको छ। उहाँ भन्नुहुन्छ, “नेपाली युवाहरू वैदेशिक रोजगारमा रमाएका छन्। तर, नेपालमै बसेर केही गर्न चाहने युवाका लागि राजनीति पनि राम्रो विकल्प बन्न सक्छ।” 

देशमा निवार्चनको लहर चलिरहँदा मतदाता शिक्षाको बारेमा कलाकाले पनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने धारणा रहेको छ। अभिनेत्री राउतका अनुसार कलाकारमात्रै नभएर मतदान शिक्षाको बारेमा सम्पूर्ण नेपालीले आफूले जानेबुझेको अरूलाई पनि सिकाउन जरुरी छ। 

“जस्तै मैले मत दिनु छ भने कसरी मतदान गर्ने भन्ने प्रक्रिया मैले आफैँले सिक्न र बुझ्न जरुरी छ। यस विषयमा सम्पूर्ण दायित्व कलाकारको मात्रै रहन्छ जस्तो मलाई लाग्दैन’’, उहाँ भन्नुहुन्छ, “तर पनि कलाकारले जनचेतना जगाउनु पर्ने ठाउँमा हामीले आफ्नो दायित्व निर्वाह गरिरहेका छौँ।”