शशिधर पराजुली
विराटनगर, कात्तिक २० गते। बिरामी बोक्ने एम्बुलेन्समा प्रतिबन्धित गाँजा ढुवानी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिराहाको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा सुखीपुर–१०, दहीपौडीको स. १ च. ६५६ नम्बरको एम्बुलेन्समा गाँजा ढुवानी गरिरहेको बेला प्रहरीले एम्बुलेन्ससहित नियन्त्रणमा लिएको हो।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एम्बुलेन्स चालकसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले बुधबार राति शङ्का लागेर एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्सभित्र कालो रङको झोलामा लुकाएर राखिएको ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको जनाएको छ।
गाँजासहित एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षे दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्ससँगै लोकेसन देखाइरहेको को. ३१ प. ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का ३२ वर्षे दिलीपकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।