• २० कात्तिक २०८२, बिहिबार

पाकिस्तान र अफगानिस्तानबिच तेस्रो चरणको वार्ता इस्तानबुलमा हुने

blog

इस्लामाबाद(पाकिस्तान), कात्तिक २० गते । पाकिस्तानले सीमापार आतङ्कवाद अन्त्य गरी युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यले तेस्रो चरणमा बिहीबार इस्तानबुलमा अफगान तालिबान प्रतिनिधिसँग पुनः वार्ता सुरु गर्ने तयारी गरेको जनाइएको छ ।

अक्टोबर ११-१५ सम्म भएको झडपपछि पाकिस्तान र अफगान तालिबानका प्रतिनिधिले दुई चरणको वार्ता यस अघिनै दोहा र इस्तानबुलमा गरिसकेको डन पत्रिकाले जनाएको छ । तेस्रो चरणको लागि टर्की र कतारको संयुक्त मध्यस्थतामा दुवै पक्षको प्रतिनिधिमण्डल बुधबार इस्तानबुल आइपुगेको छ भने वार्ता दुई दिनसम्म जारी रहने बताइएको छ ।

सेना, गुप्तचर निकाय र विदेश विभागका वरिष्ठ अधिकारीसहितको पाकिस्तानी प्रतिनिधि मण्डलको नेतृत्व इन्टर–सर्भिस इन्टेलिजेन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल असीम मलिकले गरेको जनाइएको छ । अफगान प्रतिनिधिमण्डलमा जनरल डाइरेक्टोरेट अफ इन्टेलिजेन्स प्रमुख अब्दुल हक वासेक, तालिबानका प्रवक्ता सुहेल शाहिन, लगायतका प्रतिनिधि सहभागी भएको जनाइएको छ । 

अन्तिम चरणको वार्तापछि टर्कीको विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा सबै पक्ष युद्धविराम जारी राख्न सहमत भएको उल्लेख छ । गत अक्टोबर ११ मा भएको झडपले दुई छिमेकीबिचको सम्बन्ध चिसिएपछि पाकिस्तान र अफगान तालिबानबिचको वार्ता लामो समय सम्म कूटनीति पछ्याउँदै चलिरहेको जनाइएको छ ।  

अक्टोबर १५ को युद्धविराममा सहमति भएपछि अन्ततः दुई पक्ष दोहामा वार्ताका लागि आएका थिए । दोहा वार्तापछि, सीमा विवाद रोक्न अस्थायी युद्धविरामका लागि दुई पक्षले स्थायी शान्ति र स्थिरताका लागि इस्तानबुलमा पुनः वार्ता गर्न प्रतिबद्ध भए । दुई पक्षबिच दोस्रो चरणको वार्ता अक्टोबर २५ मा टर्कीमा भएको थियो । 

यद्यपि, सूचना मन्त्री अत्ताउल्लाह तरारले अक्टोबर २९ मा एक्समा गरेको पोस्टमा वार्ताले कुनै व्यावहारिक समाधान ल्याउन असफल भएको जनाउनु भएको छ । यद्देपी मध्यस्थकर्ताले निरन्तरको प्रयास स्वरूप वार्ता प्रक्रियालाई बचाउन सफल भएको, टर्कीले अक्टोबर-३१ मा जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यसै गरी नोभेम्बर-छ मा इस्तानबुलमा हुने प्रमुख-स्तरको बैठकमा युद्धविराम “कार्यान्वयनको थप तरिकाको छलफल र निर्णय गरिने जनाइएको छ । रासस/एएनआई