काठमाडौँ, कात्तिक २० गते । नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्नुहुने भएको छ ।
विश्व च्याम्पियनसिप नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको कायरोमा हुने छ । विश्व च्याम्पियनसिपको तयारीमा व्यस्त रहनुभएकी एरिकाले विश्व कराते महासङ्घ (डब्यूकेएफ) को युनिभर्सालिटी कोटामार्फत भाग लिने मौका पाउनुभएको हो ।
गत महिना फ्रान्सको राजधानी पेरिसमा भएको छनोट प्रतियोगितामा उहाँ समूह चरणका सबै खेल जित्दै क्वार्टरफाइनलसम्म पुग्नुभएको थियो । सोही कारण उहाँले युनिभर्सालिटी कोटामार्फत स्थान सुरक्षित गर्नुभएको हो ।
एरिकाले महिला ६८ केजी तौलसमूहमाथि व्यक्तिगत विधामा प्रतिस्पर्धा गर्नुहुने छ । यो प्रतियोगिता विश्व करातेको सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धा हो ।
जसमा विश्वभरका उत्कृष्ट करातेका खेलाडी सहभागी हुने यो प्रतियोगिता हरेक कराते खेलाडीको सपनाका रूपमा रहने गरेको छ । प्रत्येक तौल समूहमा ३२ खेलाडी सहभागी हुने यो प्रतियोगितामा दुई खेलाडी युनिभर्सालिटी कोटाबाट चयन गरिने प्रावधान रहेको छ ।
एरिकासँगै नेपालकी अर्की खेलाडी सानुमाया थिङले पनि च्याम्पियनसिपमा एकल कातामा प्रतिस्पर्धा गर्नुहुने छ । विश्व वरीयताको आधारमा उहाँ छनोट हुनुभएको हो ।
गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाउनुभएको हो । छनोट भएर पहिलो पटक विश्वकप खेल्न लाग्नुभएकी उहाँ पनि अहिले तयारीमा व्यस्त रहनुभएको छ ।