• ७ मंसिर २०८१, शुक्रबार

'महापुरुष' तेस्रो सातामा : सात करोडभन्दा बढी व्यापार

blog

काठमाडौं, कात्तिक २८ गते । कात्तिक ११ गतेबाट देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । दुई सातामा ७ करोडभन्दा बढी कमाइ गरेको फिल्मले तेस्रो सातामासम्म आइपुग्दा ७ करोड चार लाखसम्म व्यापार गरिसकेको छ । 

हरिवंश आचार्यको प्रमुख भूमिका रहेको 'महापुरुष'ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । नेपालमा बाहेक विदेशमासमेत राम्रो प्रदर्शन भइरहेको 'महापुरुष'ले अहिलेसम्मकै उत्कृष्ट व्यापार गरेको छ ।

यस्तै, फिल्मले पहिलो साता चार करोड ५६ लाख रुपियाँ क्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपियाँ क्रस कमाइ गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । फिल्मको पहिलो साताको कुल कमाइ ४ करोड ५० लाख माथि थियो भने दोस्रो साता काठमाडौं र उपत्यका बाहिरसहित २ करोड ५० लाख माथि थियो ।

उहाँका अनुसार फिल्मले पहिलो साता काठमाडौं उपत्यकामा तीन करोड ६ लाख र दोस्रो साता एक करोड ८९ लाख क्रस कमाएको हो । यसबाहेक फिल्मले पहिलो साता उपत्यकाबाहिर एक करोड ५० लाख र दोस्रो साता ९४ लाख रुपियाँ कमाइ गरेको हो । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा रहेको सामाजिक विषयवस्तुमा आधारित यस फिल्ममा एकल बुबाको बुढोपन र आफ्ना सन्तानका लागि गरेको सङ्घर्ष प्रस्तुत गरिएको छ । 

यससँगै फिल्ममा एकल बुबाको बुढेसकालमा बसेको प्रेम र प्रेमलाई जीवन दिन गरिएको सङ्घर्ष र उतारचढावलाई देखाइएको छ । प्रदर्शनको पहिलो सातादेखि उत्कृष्ट कमाइ गरिरहेको फिल्मले तेस्रो सातामा पुग्दा पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।  

फिल्ममा हरिवंश र गौरी मल्लसँगै मदनकृष्ण श्रेष्ठ, रवीन्द्रसिंह बानियाँ, अरू क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसकार, सबिन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ । 

निर्देशक प्रदीप भट्टराईले यसअघि ‘शत्रु गते, जात्रा र जात्रै जात्रा’ जस्ता उत्कृष्ट फिल्म निर्देशन गर्नुभएको थियो ।