• १२ चैत २०८२, बिहिबार

मकवानपुरमा एसईईमा नियमिततर्फका विद्यार्थी घट्याे

blog

हेटौँडास्थित शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका कार्यालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

मकवानपुर, चैत १२ गते । मकवानपुरबाट यस वर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थी विद्यार्थीको सङ्ख्या २०८१ मा भन्दा घटेको छ । गत वर्षको तुलनामा यस वर्षको नियमिततर्फका एसइईका सहभागी विद्यार्थीहरु घटेका हुन् । 

यही चैत १९ गतेदेखि हुने एसईईमा परीक्षामा यस पटक नियमिततर्फ गत वर्षको शैक्षिक सत्रको अनुपातमा तीन सयभन्दा बढी विद्यार्थी घटेका छन् । 

शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका अनुसार यस वर्षको माध्यामिक शिक्षा परीक्षामा नियमित र ग्रेडवृद्धि गरी यस जिल्लाबाट सात हजार १९२ परीक्षार्थी सहभागी हुँदै छन् । 

शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका सूचना अधिकारी उन्नति ढकालले यस वर्ष नियमिततर्फ पाँच हजार ५२७ र ग्रेडवृद्धितर्फ एक हजार ६६५ परीक्षार्थी रहेको जानकारी दिनुभयो । नियमिततर्फ परीक्षार्थी गत वर्षभन्दा एसइई दिने यस वर्ष ३८८ जनाले घटेको छ । गत वर्ष सात हजार ४५६ परीक्षार्थी सहभागी भएकोमा नियमिततर्फ पाँच हजार ८६५ र ग्रेड वृद्धितर्फ एक हजार ५९१ जना रहेका थिए ।

शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका सूचना अधिकारी ढकालले उत्तर पुस्तिका परीक्षा केन्द्र भएको विद्यालयमा पढाइसकिएको भन्दै  प्रश्नपत्र भने परीक्षा केन्द्र नजिक रहेको प्रहरी कार्यालयमा पठाइने र त्यहाँबाट विद्यालयमा पु¥याइने बताउनुभयो । 

प्राविधिकधार र २०७९ सालको ग्रेड वृद्धिको परीक्षा हेटौँडामा हुने छ । प्राविधिकधार र ग्रेड वृद्धिको परीक्षा केन्द्रसहित २८ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । 

परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यपकनै केन्द्राध्यक्ष हुने व्यवस्था रहेको छ । विद्यार्थीको सङ्ख्या अनुसार परीक्षाका दिन शिक्षक परिचालन गरिने भएको छ । 

एसईईमा जिल्लास्थित  ३७ वटा संस्थागत विद्यालयसहित १४२ वटा विद्यालयका छात्रछात्रा संलग्न हुँदैछन् । २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा मकवानपुरका सात विद्यालयका् शून्य नतिजा आएको थियो ।