• १२ चैत २०८२, बिहिबार

विश्व स्थापनार्थ शान्ति कलश निर्माण

blog

गोकर्ण पौडेल

तुलसीपुर ,चैत १२ गते । विश्व शान्ति स्थापनार्थ तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटमा शान्ति कलशको शिलन्यास गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का, कलश निर्माणार्थ दाता परिवारका सदस्य इतिहासविद् प्राध्यापक श्रीधर मजगैयाले संयुक्तरुपमा कलशको शिलन्यास गर्नुभएको हो । 

छिल्लीकोट क्षेत्रका धार्मिक पर्यटन प्रवर्धन, छिल्लीकोट क्षेत्रबाट विश्वमा शान्तिको सन्देश फैलाउनका लागि कलश निर्माण सुरु गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको ऐतिहासिक, धार्मिक र पर्यावरणीय महत्वका साथै शान्ति कलश निर्माणपछि थप महत्व बढ्ने बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सुधारको कार्यलाई पालिकाले पहिलो प्राथमिकताक्रममा राखेको बताउनुभयो । 

नगरप्रमुख खड्काले छिल्लीकोट क्षेत्रमा स्वास्थ्य सुविधाका लागि भौतिक संरचना निर्माण भइरहेको बताउनुभयो । उहाँले खानेपानी र विद्युत सेवा पुगेको बताउँदै अब यस क्षेत्रको पर्यापर्यटन बढाउनका लागि निर्माण गरिएको संरचनाको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । 

देवारण्य छिल्लीकोट महाअभियान अध्यक्ष सागर रेग्मीले करिब दश लाखको लागतमा सम्पन्न गरिने कलश निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका वडा १९ वडा कार्यालय, तुलसीपुर उपमहानगरपालिकाको चार लाख बजेट विनियोजन गरेको बताउनुभयो । 

पालिका, वडा, स्थानीयवासी, जनदान र जनश्रमदानबाट कलश निर्माण सुरु गरिएको रेग्मीले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका वडा १९ का वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा शिलन्यास कार्यक्रम सम्पन्न भएको हो ।

शिलन्यासकै दिन चार लाख पचास हजार सहयोग 

कलश शिलन्यासका दिन एउटै परिवारबाट चार लाख पचास हजार सहयोग प्राप्त भएको अध्यक्ष सागर रेग्मीले बताउनुभयो । 

तुलसीपुर १९ दोघर्रे निवासी कालिकादेवी मजगैया,तुलसीपुर १८ निवासी पुष्पादेवी मजगैया, गोबिन्द पोख्रेल,अरुणा पोख्रेल,श्रीधर मजगैया,गंगादेवी पोखरेल,केशव पोख्रेल, शिवा पोख्रेल,अशोक पोख्रेल,पद्मा पोख्रेल,विनोद पोख्रेल र शिला पोख्रेलले ठुलो बुवा आमा शोभाकर उपाध्याय,इन्द्रकुमारी पोख्रेल, बुवा आमा मोहनप्रसाद उपाध्याय,खगेश्वरा र शिवाकुमारी उपााध्यायको स्मृतिमा चार लाख पचास हजार सहयोग गर्नुभएको हो । 

अध्यक्ष रेग्मीका अनुसार शिलन्यासकै दिनसम्म करिब पाँच लाख रुपिया जनदानबाट प्राप्त भएको बताउनुभयो ।