• ७ वैशाख २०८१, शुक्रबार

मागभन्दा कम शिक्षक छनोट

blog

भक्तपुर, कात्तिक २७ गते । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। 

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको बताउँदै भन्नुभयो, “विश्वविद्यालयको पठनपाठनमा वा प्रश्न तयारीमा वा परीक्षा प्रणालीमा समस्या छ कि ? नतिजालाई सकारात्मक लिएका छैनौँ। यस परिणामले भोलि शिक्षक नपाइने अवस्था सिर्जना हुन सक्नेतर्फ सङ्केत गरेको छ।”

आयोगले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयमा नयाँ शिक्षक नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। तीन किसिमको परीक्षा सञ्चालन गरी ती शिक्षक छनोट गरिएका थिए र आगामी निर्वाचनपछि उनीहरूलाई कक्षाकोठाभित्र खटाइनेछ।

नतिजाप्रति चित्त बुझाइ नभएपछि आयोगका अध्यक्ष रेग्मी नारायणहिटी दरबार परिसरमा रहेको नीति अनुसन्धान प्रतिष्ठानमा पुगी नतिजा कमजोर हुनुका कारणबारे अनुसन्धान गर्न अनुरोध गर्नुभएको छ। “प्रतिष्ठानलाई अनुरोध गरेँ। यो गम्भीर समस्या भएकाले प्रतिष्ठान अनुसन्धान गरिदिनका लागि सकारात्मक देखिएको छ,” उहाँले भन्नुभयो। 

थोरै मात्र विषयमा माग सङ्ख्या जति नै शिक्षक सिफारिस भएका छन्। सबैभन्दा खराब अवस्था मधेश प्रदेशमा देखिएको छ। मधेश प्रदेशमा नेपाली विषयका लागि ३२ जना माग भएकोमा १९ जना मात्र, गणितमा १७ जना माग भएकोमा चार जना मात्र, विज्ञानमा २२ जना माग भएकोमा छ जना मात्र सिफारिस भएका छन्। सिरहामा एक जना पनि शिक्षक सिफारिस भएका छैनन्। यसैगरी प्रदेश १ मा गणित विषयमा ७६ जना माग भएकोमा २८ जना, गण्डकी प्रदेशमा गणितमा ५५ जना माग भएकोमा ३१ जना, विज्ञानमा ९८ जना माग भएकोमा ८२ जना छनोट भएका छन्। लुम्बिनी प्रदेशमा गणित विषयमा ३७ जना माग भएकोमा १४ जना, विज्ञानमा ३३ जना माग भएकोमा २६ जना, कर्णाली प्रदेशमा गणितमा २९ जना माग भएकोमा आठ जना, सुदूरपश्चिम प्रदेशमा गणितमा १६ जना माग भएकोमा नौ जना सिफारिस भएको आयोगले जानकारी दिएको छ।

आरक्षण कोटामा पनि अवस्था खराब देखिएको छ। नेपाली विषयमा प्रदेश १ मा मधेशी कोटाका पाँच र दलित कोटाका दुई जना शिक्षक सिफारिस भएनन्। नेपाली विषयमा लिइएको परीक्षामा मधेश प्रदेशमा महिलामा पाँच, आदिवासी जनजातिमा चार, मधेशीमा दुई र दलित तथा अपाङ्ग कोटामा एक–एक जना शिक्षक छनोट भएनन्। नेपाली विषयमा जम्मा ५१ जना शिक्षक छनोट हुन सकेनन्।

त्यस्तै अङ्ग्रेजी विषयमा बागमती प्रदेशमा मधेशी कोटाका छ जना छनोट भएनन्। यस विषयमा आरक्षणअन्तर्गतका २३ कोटामा कोही पनि सिफारिस हुन सकेनन्। सबैभन्दा बढी नकारात्मक अवस्था गणित विषयमा देखिएको छ। गणित विषयमा प्रदेश १ मा आरक्षणका ३४ जना, गण्डकी प्रदेशमा २४ जना सिफारिस भएनन्। आरक्षणतर्फ नै विज्ञानमा प्रदेश १ मा ३५ जना, गण्डकी प्रदेशमा १६ जना सिफारिस हुन सकेनन्।

आयोगका अध्यक्ष रेग्मीले सिफारिस हुन नसकेका ३७० कोटा आगामी विज्ञापनमा जोडेर माग गरिने बताउँदै भन्नुभयो, “हाम्रा कारण त्रुटि भए सच्याउन तयार छौँ। प्रश्नपत्रको समस्या हो भन्नेमा हामीहरूको असहमति छ।”