जीवछ यादव
लहान, चैत ११ गते । शिक्षामा सुधार हुनुपर्ने बढ्दो मागलाई सम्बोधन गर्न स्थानीय तहअन्तर्गत रहेका शिक्षा शाखाहरूले कक्षा १ देखि ९ सम्मका परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सक्रियता देखाउन थालेका छन् ।
शिक्षामा परिवर्तन र व्यवस्थापनबारे विभिन्न तहमा चर्चा चलिरहेको अवस्थामा स्थानीय तहका शिक्षा शाखाहरूले विद्यमान परीक्षा प्रणालीलाई चुस्तदुरुस्त बनाउन पहल थालेका हुन् ।
लहान नगरपालिका शिक्षा शाखा प्रमुख अमिरी यादवका अनुसार परीक्षा प्रणालीमा सुधार गर्दै नयाँ शैक्षिक सत्रदेखि शिक्षण कार्यलाई अझ व्यवस्थित बनाउन तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “चैत १९ गते हुने एसइई परीक्षा अगावै कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइरहेको छ । यही परीक्षाबाट विद्यार्थीहरूको वास्तविक संख्या र सिकाइ अवस्थाको मूल्याङ्कन गरी थप व्यवस्थापन गर्न अनुगमनलाई निरन्तरता दिइएको छ ।”
लहान नगरपालिकाका नगरप्रमुख तथा शिक्षा संयोजक महेशप्रसाद चौधरीले भौतिक पूर्वाधार मात्र विद्यालय सुधारको आधार नभएको उल्लेख गर्दै शैक्षिक सत्रको सुरुदेखि अन्तिम परीक्षासम्मको तयारीमा प्रधानाध्यापक र शिक्षकलाई जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “लहान नगरपालिकाभित्र रहेका ५९ वटा सामुदायिक विद्यालयलाई जस्तापातामुक्त बनाउने लगायत भौतिक निर्माणका काम भइरहेको छ । साथै शैक्षिक सुधारका लागि प्रधानाध्यापक, शिक्षक र अभिभावकको सहभागितामा नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको छ ।”
लहान–१० स्थित श्री जनता माध्यमिक विद्यालय, बैरिया गुदीगाउँका प्रधानाध्यापक देवनलाल ठाकुरले प्रारम्भिक शिक्षणदेखि अन्तिम परीक्षासम्म निरन्तर निगरानी आवश्यक रहेको बताउनुभयो । चैत ५ गतेदेखि जिम्मेवारी सम्हालेका उनले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न परीक्षा व्यवस्थापनबाटै काम सुरु गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस विद्यालयमा ९९ प्रतिशत दलित तथा विपन्न समुदायका बालबालिका अध्ययनरत छन् । त्यसैले शैक्षिक सुधारका लागि व्यवस्थापन समिति र अभिभावकलाई समेत जिम्मेवार बनाउने योजना बनाएका छौँ ।”