बसन्त पराजुली
नारायणगढ, चैत ११ गते । देशभरका स्थानीय तहमा रहेका प्रज्ञाप्रतिष्ठानका पदाधिकारीहरूको भेलाले १३ बुँदे घोषणापत्र जारी गरेको छ । भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानको आयोजनामा दुई दिनसम्म चलेको उक्त भेलाले सबै स्थानीय तहमा प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने र नाममा एकरूपता ल्याउने निर्णय गरेको हो ।
घोषणापत्रमा प्रत्येक पालिकामा प्रज्ञाप्रतिष्ठान स्थापना गरी त्यसअन्तर्गत भाषा, साहित्य, ललितकला, सङ्गीत, नाट्यकला, लोकवार्ता तथा ज्ञान–विज्ञान विभाग गठन गर्ने उल्लेख छ । साथै ‘वाङ्मय’ वा ‘परिषद्’ जस्ता नाम हटाई सबै संस्थामा ‘प्रज्ञाप्रतिष्ठान’ शब्द अनिवार्य प्रयोग गर्ने निर्णय गरिएको छ ।
त्यस्तै सङ्घीय, प्रादेशिक र स्थानीय तहबीच समन्वय बढाउने, प्राज्ञिक संस्थाबीच सहकार्य सुदृढ गर्ने तथा अध्यक्षात्मक प्रणालीअन्तर्गत संस्थागत संरचना विकास गरी संस्थालाई प्रविधिमैत्री बनाउने विषय पनि घोषणापत्रमा समेटिएको छ ।
प्रज्ञा सूचना प्रणाली निर्माण, देशभरका प्राज्ञिक संस्था तथा सांस्कृतिक निकायहरूको विवरण सङ्कलन गरी डिजिटल प्रणाली विकास गर्ने, नयाँ पुस्तालाई सिर्जनामा प्रोत्साहन गर्ने र ज्ञानको पुस्तान्तरण सुनिश्चित गर्ने विषयमा पनि जोड दिइएको छ ।
घोषणापत्रमा सांस्कृतिक ग्राम निर्माण, स्रष्टाको संरक्षण तथा प्रोत्साहन, पुरस्कारमा कर छुट, स्रष्टा–परिचयपत्र लागू गर्ने र सामाजिक सुरक्षा सुनिश्चित गर्ने विषय पनि समावेश छन् ।
त्यसैगरी कला र शिक्षालाई उत्पादनसँग जोड्ने, सिर्जनालाई प्रोत्साहन गर्ने नीति लागू गर्ने तथा साहित्य, कला र संस्कृतिको अनुसन्धानमा साझा मापदण्ड अपनाउने निर्णय गरिएको छ ।
मौलिक ज्ञानलाई पाठ्यक्रममा समावेश गर्ने, सामाजिक सद्भाव र नैतिकता प्रवर्द्धन गर्ने तथा समाजमा देखिएका विकृति नियन्त्रणका लागि प्रणाली विकास गर्ने विषयमा पनि घोषणापत्रले जोड दिएको छ ।
देशको सांस्कृतिक, भाषिक तथा ज्ञान–विज्ञानसम्बन्धी सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न तीनै तहका योजनामा समावेश गर्ने विषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले भेलाले विभिन्न प्रज्ञाप्रतिष्ठानबीच भाइचारा र सहकार्यको सम्बन्ध सुदृढ बनाएको जानकारी दिनुभयो ।