• ११ चैत २०८२, बुधबार

व्यावसायिक बन्दै केरा खेती

blog

धनकुटाको पाख्रीबासमा शुक्रराज राईले सुरु गर्नुभएको केरा खेती ।

कविराज घिमिरे  

हिले, चैत ११ गते  । धनकुटाको पाख्रीबास नगरपालिका–९ का कृषक शुक्रराज राईले करिब ४० रोपनी क्षेत्रमा केरा खेती सुरु गर्नुभएको छ । धान तथा अन्य खेती गर्न कामदार समस्या हुन थालेपछि उहाँ केरा खेतीतर्फ लाग्नुभएको हो । 

तीन वर्षअघि सुरु गरेको केरा खेती अहिले उहाँको आम्दानीको एक राम्रो माध्यम बनेको छ । अन्य खेतीभन्दा केरा खेती गर्न सहज हुने, कामदार तथा श्रमसमेत कम लाग्ने भएकाले केरा खेतीतर्फ लागेको उहाँको भनाइ छ । राई भन्नुहुन्छ, “मेहनत पनि कम पर्ने आम्दानी पनि छिट्टै दिने र बजारको समस्या नभएका कारण केरा खेतीतर्फ लागेको हुँ अहिले राम्रै आम्दानी दिँदै छ ।”  

धनकुटामा शुक्र राई जस्तै व्यासायिक रूपमै केरा खेती गरिरहेको कृषक भेट्टाउन निक्कै मुस्किल छ । राईको सिको गर्दै उहाँका छिमेकीसमेत यो खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँठाउँमा पहिलेदेखि नै  हुँदै आएको केरा खेतीलाई थप विस्तार गरिरहेका छन् । यो स्थानबाहेक जिल्लाको सहिदभूमि गाउँपालिका, साँगुरीगढी गाउँपालिका तथा पाख्रीबास नगरपालिकाको तल्लो क्षेत्रमा पहिलेदेखि नै केरा खेती हुँदै आएको छ । जिल्लामा हाल ४३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । यहाँबाट वार्षिक चार सय मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क छ । 

केरा खेती समथर, भिरालो जस्तोसुकै स्थानमा पनि गर्न सकिन्छ । यसका लागि १५ देखि ३५ डिग्रीसम्मको तापक्रम, पानी नजम्ने तर ओसिलो स्थान उपयुक्त मानिन्छ । धनकुटाका सबै स्थानमा उचाइ अनुसार फरक फरक जातका केराको व्यावसायिक खेती गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाका कृषि प्राविधिक कर्ण भुजेल बताउनुहुन्छ । भुजेल भन्नुहुन्छ, “उचाइ अनुसारका जातको खेती गरे धनकुटाको सबै स्थानमा केरा खेती हुन्छ तर त्यो अनुसारको धनकुटामा खेती छैन ।” 

एक बोटले एक पटक मात्रै आम्दानी दिए पनि पुरानो बोट धेरै टुसा पलाई नयाँ बोट बन्छ ।  राम्रोसँग गोडमेल गरी मल र पानीको व्यवस्थापन गर्न सके बर्सांैसम्म आम्दानी लिन सकिन्छ । नयाँ बिरुवाले एक वर्षभित्र फल दिने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाको भनाइ छ । धनकुटामा जहाजी, माल्बो, चिनियाँ चम्पा, आसामेलगायत जातको खेती हुने गरेको राना बताउनुहुन्छ । अन्य खेतीभन्दा मेहनत कम, छोटो समयमै आम्दानी, कामदार कम चाहिने भएकाले यो खेतीतर्फ लाग्न रानाको अनुरोध छ । 

केराको बजारसमेत निक्कै राम्रो छ । स्वास्थ्यवर्धक फल भएकाले बजारमा माग धेरै छ तर जिल्लामा उत्पादन भएको फलले जिल्लाकै माग धान्न सकेको छैन । तराईमा समेत पहाडी क्षेत्रमा हुने स्थानीय रैथाने जातका केराको माग धेरै हुने गरेको छ ।