• ११ चैत २०८२, बुधबार

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, तीन घाइते

blog

कान्ति लोकपथको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखास्थित सडकखण्डमा दुर्घटना भएको आइचर ट्रक । तस्बिर राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, चैत ११ गते ।
मकवानपुरका भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र तीन जना घाइते भएका छन् । कान्ति लोकपथको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखा स्थित सडकखण्डमा आइचर ट्रक दुर्घटना हुँदा वीरगञ्ज महानगपालिका ३२ का २० को सन्तोष यादवको मृत्यु भएको हो ।

ट्रक दुर्घटनामा घाइते हुनुभएका यादवलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याई इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको र शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान २ः५० बजेको समयमा भएको दुर्घटनामा परी ट्रक चालक वीरगञ्ज महानगपालिका ३२ घर भएका ३३ वर्षीय कृष्ण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

ट्रक चालक यादवलाई हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि प्रहरी साथमा लगाई भरतपुर पठाएको छ । ना ८ ख ८७६० नं.उक्त ट्रक वीरगञ्जबाट काठमाडौँ एरियल कम्पनीको सरफ लोड लिई जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।

दुर्घटना भएको खबरपछि अस्थायी प्रहरी पोष्ट जितपुरभन्ज्याङ मकवानपुरबाट दुई जनाको टोली पुग्दा ट्रक अनियन्त्रित भई सडक नजिक रहेको घरमा ठक्कर खाई सडकबाट करिब १००/१५० मिटर तल खोल्सामा खसी दुर्घटनाग्रस्त भएको पाइएको प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनापछि नेपाली सेनाको लेनडाडाँडा सुरक्षा वेशबाट सुबेदार सीताराम कार्कीको कमाण्डमा १० जनाको टोलीले उद्धार गरेको गरेको थियो ।

ट्रकको ठक्करबाट स्थानीय ओमान सिंह तितुङको घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका ८ स्थित भिआइपी सडक खण्डमा गएराति सिमपानीबाट मनहरी बजारतर्फ आउँदै गरेको ना ४६ प ३१२० मोटरसाइकलकको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।

मोटरसाइकलकको ठक्करबाट घाइते भएका हाल नामथर वतन नखुलेको वर्ष ३४/३५ का घाइते पुरुष व्यक्तिको मनहरी अस्पताल मकवानपुर सामान्य उपचार पश्चात् थप उपचारको लागी गएराति नै नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

मोटरसाइकल घटनास्थलमा छाडी चालक फरार रहेकोमा खोजतलासको क्रकमा मनहरी गापा ७ मनहरी बजारका २४ वर्षीय विकेस कटुवाललाई घरबाट घाइते अवस्थामा फेला पारेर नियन्त्रणमा लिई हाल मनहरी अस्पतालमा उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।