शंकर केसी
सल्यान, चैत ११ गते । देशभरका निजी विद्यालयहरूको शुल्क महँगिँदै गएपछि धेरै अभिभावकका लागि आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउनु चुनौतीपूर्ण बन्दै गएको छ। तर यही परिस्थितिका बीच सल्यानको एक संस्थागत विद्यालय फरक अभ्यासमार्फत उदाहरणीय बनेको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१, सल्लीबजारमा रहेको लङ्ग ग्रीन रिभर इङ्लिस बोडिङ स्कुलले अभिभावकविहीन, अनाथ तथा आर्थिक रूपमा विपन्न ३९ जना बालबालिकालाई पूर्ण रूपमा निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ।
विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत वर्षौँदेखि यस्तो अभियान सञ्चालन गर्दै आएको हो। विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल कमल वलीले सुरुमा १७ जना बालबालिकाबाट यो अभियान सुरु गरिएको जानकारी दिनुभयो। अहिले यो संख्या ३९ पुगेको छ।
“पैसाको अभावका कारण पढ्न नपाएका बालबालिकालाई खोज्दै विद्यालय ल्याउने गरेका छौँ,” वलीले भन्नुभयो। “छिमेकका अन्य बालबालिका स्कुल ड्रेस लगाएर गाडी चढ्दै विद्यालय जाँदा टुलुटुलु हेरेर बस्ने ती बालबालिकाको पीडा देखेपछि हामीले अभिभावक बन्ने निर्णय गरेका हौँ।”
विद्यालयले दुरदराजका गाउँबस्तीमा पुगेर अभिभावकविहीन तथा जोखिममा रहेका बालबालिकाको पहिचान गर्दै उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउने गरेको जनाएको छ। हाल अध्ययनरत ३९ जनामध्ये ३५ जना अभिभावकविहीन अनाथ बालबालिका हुन् भने चार जना अत्यन्तै निम्न आय भएका परिवारका बालबालिका हुन्।
ती बालबालिकाको पठनपाठन, पोशाक, स्टेशनरी लगायतका सम्पूर्ण खर्च विद्यालयले व्यहोर्दै आएको छ। विद्यालय प्रशासनका अनुसार यी विद्यार्थीहरूको वार्षिक खर्च करिब १६ लाख ८६ हजार ३०० रुपियाँ पुग्ने गरेको छ।
निजी विद्यालयहरूमा शुल्क वृद्धि र व्यावसायीकरणको आलोचना भइरहेका बेला, शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै सल्यानको यो विद्यालयले अभिभावकविहीन, अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई निशुल्क शिक्षाको अवसर प्रदान गरेको छ। विविध कारणले समस्यामा परेका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन यस्ता प्रयास अझै विस्तार हुन आवश्यक देखिन्छ।