नेत्र शाही
जुम्ला, चैत ११ गते । जुम्लामा कारागारका कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा जुम्ला कारागारका कैदीवन्दीलाई स्वास्थ्य परीक्षण गरिएको हो।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माका अनुसार विश्व क्षयरोग दिवसको अवसरमा कैदीवन्दीमध्ये ६२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। उनीहरूमध्ये २१ जनालाई मानसिक स्वास्थ्य सम्बन्धि उपचार तथा परामर्श दिइएको थियो, ९ जनालाई क्षयरोगको सम्भावित जोखिमका आधारमा परीक्षणका लागि सिफारिस गरिएको र १० जना उच्च रक्तचाप भएका थिए।
शिविरमा विशेषज्ञ तथा स्वास्थ्यकर्मीले कैदीवन्दीको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम र मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या पहिचान गरेका छन्। मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीवन्दीलाई सकारात्मक सोच, आत्मबल वृद्धि र तनाव व्यवस्थापनका उपायमा परामर्श दिइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार परीक्षणका क्रममा केही कैदीवन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ।
कारागारभित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी नआओस् भनेर यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने छ। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य परीक्षणसँगै फलफुल पनि वितरण गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले पुस महिनामा समेत स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ।