सिराज खान
नेपालगन्ज, चैत ११ गते । बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क प्राथमिक कान उपचार शिविरमा ८१६ जनाको कानको उपचार गरिएको छ ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्ज बाँकेको आयोजना र बैजनाथ गाउँपालिकाको समन्वयमा पालिकाका सबै वडामा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरेर उनिहरुको उपचार गरिएको हो ।
सो शिविरमा ८१६ जनाको कान चेकजाँच र उपचार गरिएको जनाउँदै ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रका आउटरिच इन्जार्च भीषण कुमार थारुले त्यसमा कान पाक्ने समस्या भएका १२७, काने गुजी १०२ जना र ३५ जना गरेर २६४ जनाको कानको शल्यक्रिया गर्नुपर्ने देखिएकोले शल्यक्रिया गरिने बताउनुभयो ।
उहाँले बाँकेका ग्रामीण क्षेत्रमा कानको उपचार र हेरचाहमा त्यति धेरै ध्यान नदिइने हुँदा सो समस्याले धेरै जना ग्रसित रहेको पाइएको बताउनुभयो ।
ईन्चार्ज थारुका अनुसार ग्रामीण क्षेत्रमा कान स्वास्थ्यबारे सचेतना फैलाउन र उपचारको पहुँचमा ल्याउन स्थानीय सरकारसँगको समन्वयमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रले निःशुल्क शिविर गर्दै आएको छ ।
जटिल समस्या भएका बिरामीको पहिचान गरेर उनीहरुलाई विशेष छुटको व्यवस्था गरेर केन्द्रमै शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रका प्रमुख चेतनारायण चौधरीले बताउनुभयो ।
बैजनाथमा आयोजना गरिएको शिविरमा कान सहायक चिकित्सक समेत रहनुभएका आउटरिच इन्चार्ज भीषण कुमार थारु, दामोदर चौधरी, सीता चौधरी र तिर्थमान थारुले बिरामीको कान चेकजाँच र उपचार गर्नुभएको थियो ।
जिल्लाका ग्रामीण क्षेत्रका पालिकाहरुमा अझैपनि धेरै ठाउँमा निशुल्क शिविरको आयोजना गरेर कानको उपचार र चेकजाँच गराउनु पर्नेमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रले विशेष जोड दिएको छ ।
केन्द्रका प्रमख चौधरीले स्थानीय सरकारले चाहेमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रले समन्वय र सहकार्य गरेर शिविर सञ्चालन गर्न तयार रहेको बताउनुभयो ।