• ११ चैत २०८२, बुधबार

शैक्षिक सुधारका लागि ४६ बुँदे सामूहिक प्रतिवद्ता

blog

जाजरकोटमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रधानाध्यापकहरू। तस्बिरः सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, चैत ११ गते ।
जाजरकोटमा शैक्षिक सुधारका लागि जिल्ला भरका प्रधानाध्यापकहरूले सामूहिक रूपमा ४६ बुँदे प्रतिबद्धता जनाएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटको आयोजनामा सम्पन्न शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापकहरूले विद्यालय व्यवस्थापन सुदृढ पार्ने, सिकाइ गुणस्तर उकास्ने र एसइई लगायत सबै परीक्षाको नतिजा सुधार गर्ने लक्ष्यसहित प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै इकाइ प्रमुख यज्ञश्वर खत्रीले अब केवल योजना बनाउने समय सकिएको र परिणाम देखाउने समय आएको बताउनुभएको छ। इकाइका प्राविधिक तिलक भट्टराईका अनुसार विद्यालयहरूले अघिल्लो नतिजाको विश्लेषण गर्दै सुधारका लागि योजनाबद्ध काम गर्नेछन्। अतिरिक्त कक्षा, कोचिङ, मोडल टेस्ट, अनलाइन सिकाइ र निरन्तर मूल्याङ्कनलाई प्रभावकारी बनाइनेछ।

प्रतिवद्धतामा परीक्षा प्रणालीलाई मर्यादित बनाउन मोबाइल निषेध, चिटिङ नियन्त्रण र ७५ प्रतिशत हाजिरी अनिवार्य गर्ने कडाइसमेत लागू गरिनेछ। विद्यालयभित्र जिम्मेवारी बाँडफाँट, शिक्षक क्षमता विकास, वार्षिक योजना निर्माण र कार्यान्वयनमा जोड दिइनेछ। सरसफाइ, पूर्वाधार सुधार र स्थानीय स्रोतको उपयोगमार्फत विद्यालय वातावरण व्यवस्थित बनाउने लक्ष्य पनि राखिएको छ।

त्यसैगरी नयाँ पाठ्यक्रम कार्यान्वयन, आईसिटी प्रयोग, शिक्षण सामग्रीको प्रभावकारी उपयोग, विद्यार्थीको प्रतिभा पहिचान र प्री–सिकाइ अभ्यासलाई विस्तार गरिनेछ। सेनिटरी प्याड उपलब्धता, दिवा खाजा व्यवस्थापन, गुनासो सुनुवाइ, समयमै पाठ्यपुस्तक वितरण र इमिस प्रणाली अद्यावधिक गर्ने कामहरूलाई पनि प्राथमिकतामा राखिएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रशाद पौडेलले जिल्ला भित्र परीक्षा प्रणाली कमजोर रहेको गुनासो आएको भन्दै एसइई परीक्षामाअमर्यादित पाइएको खण्डमा निरीक्षक मात्र नभई केन्द्राध्यक्षलाई समेत निस्कासन गरिने चेतावनी दिनुभयो ।