• ११ चैत २०८२, बुधबार

‘जनताको सेवक भएर काम गर्छु’

blog

कविराज घिमिरे 

हिले, चैत ११ गते  । प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट एमालेका नेता राजेन्द्र राई विजयी हुनुभएको छ । धनकुटाबाट राई तेस्रो पटक विजयी हुनुभएको हो । राईले नेपाली कांग्रेसका दिनेश राईलाई तीन हजार ८७५ मतान्तरले पराजित गर्नुभयो । राजेन्द्र राईले १८ हजार १३२ मत प्राप्त गर्दा कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्नुभयो । 

 यो निर्वाचनलाई देशैभर पुरानाविरुद्ध नयाँ भनेर प्रचार गरिएको थियो । धनकुटामा राजेन्द्र राई चौथो पटक चुनावी मैदानमा हुनुहुन्थ्यो । राई र नेपाली कम्युनिस्ट पाटीका धर्मराज पौडेलबाहेक धनकुटाको चुनावी मैदानमा रहेका अन्य १५ उम्मेदवार नयाँ थिए ।

 पुरानाविरुद्ध नयाँ भनिएको यो निर्वाचनमा भने धनकुटामा पुराना र अनुभवीलाई नै जनताले अनुमोदन गरेका छन् । जितपछि राईले आफू जनताको सेवक भएर काम गर्ने कहिल्यै शासक नबन्ने बताउनुभयो । राई भन्नुहुन्छ, “मन्त्री हुँदा पनि जनताकै सेवामा समर्पित भएँ, त्यसैले त धनकुटाका जनताले मत दिएर जिताए अब पनि जनताकै सेवक भएर काम गर्छु ।” 

राई २०४२ सालमा एसएलसी उत्तीर्ण गरेपछि पूर्णकालीन राजनीतिमा लाग्नुभएको थियो । २०४७ सालमा अनेरास्ववियु धनकुटाको जिल्ला अध्यक्ष बन्नुभएका राई २०४९ सालमा जिल्ला विकास समितिको सदस्य निर्वाचित हुनुभयो । २०५४ सालमा जिविस उपसभापति हुँदै किसान महासङ्घको केन्द्रीय सदस्यसमेत बन्नुभयो । २०६६ असारमा सम्पन्न जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षमा निर्वाचित राईले दुई कार्यकाल जिल्ला अध्यक्ष बन्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटाका सातै स्थानीय तह जिताउँदा उहाँले एमालेबाट ‘म्यान अफ दी इलेक्सन’ को उपाधि पाउनुभएको थियो । 

 २०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पनि धनकुटा अध्यक्ष हुनुभयो । २०७८ साल मङ्सिरमा सम्पन्न एमालेको १० औँँ २०८२ सालको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई एमाले धनकुटाको इन्चार्जका रूपमा रहनुभएको छ । राईलाई एमालेभित्र कुशल सङ्गठक, कुशल नेतृत्वकर्ता, जनता माझ घुलमिल हुन सक्ने, जनताको सुखदुःखमा साथ दिने नेताका रूपमा चिनिन्छ ।  

चुनावी अभियानका व्रmममा राईले धनकुटाका मुख्य समस्या र सम्भावनालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँका प्रमुख एजेन्डामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटन विकास रहेका थिए । संसद्का रूपमा देशभरिको जनादेशको आधारमा प्रतिपक्षी भूमिकामा रहने उहाँको भनाइ छ । उहाँले धनकुटेलीका समस्या सदनमा बोल्ने बताउनुभएको छ । धनकुटाका समस्या आफ्नो मुख्य प्राथमिकता रहेको उहाँ बताउनुहुन्छ ।  धनकुटामा  बाँदरसहित वन्यजन्तु नियन्त्रण, सुरुङमार्ग निर्माण पहल, कृषि, रोजगार, स्वास्थ्य, शिक्षा मुख्य प्राथमिकतामा राखेर धनकुटेली जनताका लागि काम गर्ने उहाँको भनाइ छ । 

राई धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायत हालको पाख्रीबास नगरपालिका–७ मा २०२२ साल भदौ २९ गते बुवा तेजबहादुर राई र आमा मोतीमाया राईका पुत्रका रूपमा जन्मिनुभएको थियो । राई विद्यार्थी जीवनकालदेखि नै राजनीतिमा लागेर लामो सङ्र्ष, सङ्ठनात्मक अनुभव, सामाजिक सक्रियता र जनसम्पर्कको बलले तेस्रो पटक प्रतिनिधि सभामा पुग्नुभएको छ ।