• ११ चैत २०८२, बुधबार

असिनाले काक्रो खेती नष्ट, पालुङटारका किसान मारमा

blog

पालुङटार नगरपालिका–७ बगरगाउँका किसान गुञ्ज बहादुर चेपाङको नष्ट भएको काक्रो खेती। तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, चैत ११ गते ।
गोरखामा केही दिनदेखि परेको अविरल वर्षा र असिनाले पालुङटार नगरपालिका–७ बगरगाउँका किसान गुञ्ज बहादुर चेपाङको काक्रो खेती पूर्ण रूपमा नष्ट भएको छ। ३० रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर व्यवसायिक खेती सुरु गरेका चेपाङले लगाएको काक्रो असिनाले तहसनहस बनाएको हो।

काक्रो किसान चेपाङका अनुसार काक्रो राम्रो उत्पादन भईरहेको थियो र उहाँले विभिन्न चरणमा करिब ४ लाख रुपियाँ बराबरको बिक्री गरिसक्नु भएको थियो। अबको लटमा मात्रै ३ लाख रुपियाँभन्दा बढीको काक्रो तयार भएको थियो, तर टिप्न नपाउँदै असिनाले सबै सखाप पारिदिएको उहाँले दुखेसो पोख्नुभयो।

करीब १० लाख रुपियाँ लगानी गरेका चेपाङले यस वर्ष २०–२५ लाख रुपियाँ आम्दानी गर्ने अपेक्षा राख्नु भएको थियो, तर असिनाले लगानी समेत उठ्न नदिएको उहाँको भनाइ छ।

पालुङटार नगरपालिकाका कृषि शाखाका अनुसार काक्रो खेतीसहित टनेल र अन्य संरचनामा समेत क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार १२–१५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको हुन सक्ने बताइएको छ। क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायमा पठाउने प्रक्रिया अघि बढाइएको छ।

कृषि ज्ञान केन्द्र गोरखाले पनि घट्नाबारे जानकारी प्राप्त भएको जनाएको छ। कृषि ज्ञान केन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईका अनुसार प्राकृतिक प्रकोपबाट भएको क्षतिमा प्रति किसान अधिकतम ५० हजार रुपियाँसम्म राहत उपलब्ध गराउने प्रावधान रहेको छ। साथै आगामी खेतीको लागि बिउ, मल लगायतमा सहुलियत उपलब्ध गराउने तयारी गरिएको छ।

यसैबिच जिल्लाका अन्य स्थानमा पनि हावाहुरीसहितको असिनाले तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ। तर कृषि बीमा नगरेका कारण अधिकांश किसान क्षतिपूर्ति पाउनबाट बञ्चित भएका छन्। सरकारले बीमा प्रिमियममा ठूलो अनुदान दिएपनि किसानको चासो कम हुने हुँदा हरेक वर्ष यस्तो जोखिम दोहोरिने गरेको छ।