प्रेमराज सिम्खडा
कालीकोट, चैत ११ गते । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटवाडा स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
‘स्वस्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकारस प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार’ भन्ने नारासहित उक्त स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
स्थानीय स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १ का वडाध्यक्ष जगतबहादुर विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलकुमार शाह, स्वास्थ्य सेवा कार्यालयका पोषण फोकलपर्सन तथा जनस्वास्थ्य अधिकृत कटकबहादुर महत, स्वास्थ्य शाखा प्रमुख मानवबहादुर सहकारी, जनस्वास्थ्य अधिकृत सृजना महत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता विष्ट, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, शिक्षक, विद्यार्थी तथा राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा कोटवाडालाई कुपोषणमुक्त गाउँसमेत घोषणा गरिएको छ ।
पोषणमैत्री घोषणाका १६ सूचकमध्ये १५ सूचकमा ९० प्रतिशतभन्दा बढी उपलब्धि हासिल गरेपछि कोटवाडा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य चौकी इन्चार्ज सुशीला विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा क्षेत्रमा कुपोषण अन्त्य भएको छ र यसको दिगोपनाका लागि सबै पक्षको सहकार्य आवश्यक छ ।
प्लान इन्टरनेशनल र किर्डाक नेपालको सहकार्यमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत टोल–टोलमा पोषणसम्बन्धी अभियान सञ्चालन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाको अनुगमनपछि सबै सूचक पूरा भएको देखिएपछि पोषणमैत्री घोषणा स्वीकृत गरिएको हो ।
स्वास्थ्य शाखा प्रमुख मानवबहादुर सहकारीका अनुसार २०४७ सालमा स्थापना भएको उक्त स्वास्थ्य चौकीको सेवा क्षेत्रमा दुई वर्षअघि ३ प्रतिशत कुपोषण रहेकोमा अहिले शून्यमा झार्न सफल भएको छ । समुदायमा ‘हरेक बार खाना चार’, स्तनपान, गर्भजाँच तथा कुपोषित बालबालिकाको उपचारमार्फत सुधार सम्भव भएको उहाँले बताउनुभयो ।
पोषणमैत्री सूचकअनुसार ९० प्रतिशत गर्भवती महिलाले कम्तीमा ८ पटक गर्भजाँच गरेका छन् भने ९० प्रतिशतले गर्भ अवधिभर १८० आइरन चक्की सेवन गरेका छन् । शतप्रतिशत महिलाले स्वास्थ्य संस्थामै प्रसूति गराएका छन् र नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइएको छ ।
त्यसैगरी ६ देखि ५९ महिनासम्मका ९७ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल लिएका छन् भने ९१ प्रतिशतले जुकाको औषधि सेवन गरेका छन् । सबै बालबालिकाको नियमित वृद्धि अनुगमन गरिएको छ र जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराइएको पाइएको छ ।
स्वास्थ्य सेवा कार्यालयका पोषण फोकलपर्सन कटकबहादुर महतका अनुसार ६ महिनापछि पूरक आहार खुवाउने अभ्यास, कम तौल भएका बालबालिकाको शून्य अवस्था, शतप्रतिशत खोप, जिंक चक्की र पुनर्जलीय झोल प्रयोगलगायत सूचक पूरा भएपछि पोषणमैत्री घोषणा गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले उक्त उपलब्धिप्रति गर्व व्यक्त गर्दै यसको दिगोपनाका लागि आवश्यक कार्यक्रम र बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । वडाध्यक्ष जगतबहादुर विष्टले पनि पोषणमैत्री गाउँलाई दिगो बनाउन कृषि तथा पशुपालनमा बजेट केन्द्रित गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा पोषणसम्बन्धी जनचेतना फैलाउन हुड्के खम्म, देउडा र झोडा गीतमार्फत सन्देशसमेत प्रवाह गरिएको थियो । कोटवाडा स्वास्थ्य चौकीअन्तर्गत ४० गर्भवती महिला, ५ वर्षमुनिका १३४ बालबालिका, २ वर्षमुनिका ८१ बालबालिका र ११ महिनामुनिका ४९ शिशु रहेको स्टाफ नर्स लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा कुपोषण अन्त्य, मानव पूँजी विकास तथा समृद्ध समाज निर्माण गर्ने लक्ष्यसहित ७ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गरिएको थियो ।