गोकर्ण दयाल
बैतडी, चैत ११ गते । बैतडीमा एक परिवारले स्वलगानीमा विद्यालयमा पुस्तकालय स्थापना गर्नुका साथै विद्यार्थीलाई कथा लेखनमा प्रेरित गरी पुस्तक प्रकाशनसमेत गरेका छन् । पाटन नगरपालिका–६ टुँडीखाडका महेन्द्र जोशीसहित उहाँका परिवारले सोही वडामा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय, पाटनको परिसरमा बालबालिकालाई लक्षित पाँच सय पुस्तकसहित पुस्तकालय स्थापना गरेका हुन् ।
त्यति मात्र होइन, विद्यालयका ३० जना विद्यार्थीलाई कथा लेखनसम्बन्धी तालिम प्रदान गरी उनीहरूले नै लेखेको ‘हमरी बातै’ नामक मौलिक पुस्तक प्रकाशन तथा विमोचनसमेत गरिएको छ ।
कथा लेखन तालिमका लागि नेपाल बाल साहित्य समाजका अध्यक्ष विजय राज आचार्यलाई काठमाडौँबाट निमन्त्रणा गरिएको थियो । साहित्यकार आचार्यले तालिम दिनुका साथै आफ्नै ८७ वटा पुस्तक निःशुल्क उपलब्ध गराउनुभएको छ ।
गत कात्तिकमा सञ्चालन गरिएको सिर्जनात्मक लेखन तालिमपछि विद्यार्थीहरूले ‘हमरी बातै’ नामक पुस्तक तयार गरेका हुन् । उक्त पुस्तकमा २६ वटा नेपाली र २४ वटा अंग्रेजी भाषामा लेखिएका मौलिक बालकथा समावेश छन् । पुस्तक प्रकाशनमा समेत जोशी परिवारले सहयोग गरेको हो ।
दाता परिवारका सदस्य महेन्द्र जोशीले गाउँमा मौखिक रूपमा प्रचलित लोककथाको संरक्षण गर्ने उद्देश्यले पुस्तक प्रकाशनमा सहयोग गरेको बताउनुभयो । उहाँले पुस्तकालय स्थापना गरी पाँच सय पुस्तक खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यी सबै काम स्वर्गीय बुवाको सम्झनामा गरेका हौं । बुवा शरदप्रसाद जोशी यस विद्यालयका पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले हामी शिक्षित बनेका हौं र सामाजिक दायित्व पूरा गर्ने प्रयास गरेका छौं ।”
जोशी परिवारले करिब १० लाख रुपियाँ खर्च गरेर पुस्तकालय स्थापना, पुस्तक खरिद तथा प्रकाशन कार्य सम्पन्न गरेको जनाएको छ । पुस्तक विमोचन कार्यक्रममा द्रोपती जोशीले आफ्ना स्वर्गीय श्रीमान् शरदप्रसाद जोशीको सपना सन्तानले पूरा गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीले जोशी परिवारको योगदानलाई उदाहरणीय कार्यको रूपमा व्याख्या गर्दै यसले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले पनि उक्त कार्यको प्रशंसा गर्दै स्थानीय सरकारले पुस्तकालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।