सुर्खेत समाचारदाता
सुर्खेत, चैत ११ गते । कर्णाली प्रदेश राधजानी सुर्खेतबाट कर्णालीका हिमाली जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । अहिलेसम्म प्रदेश राजधानी सुर्खेतबाट हिमाली जिल्लामा सिधा हवाईसेवा छैन । हिमाली जिल्ला जानका लागि लुम्बिनी प्रदेशको नेपालगन्ज आएर जानुपर्ने बाध्यता छ ।
कर्णाली प्रदेश सभाले प्रदेश राजधानी सुर्खेतदेखि हिमाली जिल्ला मुगु, जुम्ला, हुम्ला र डोल्पामा नियमित रूपमा सिधा हवाईसेवा सञ्चालनका लागि सङ्कल्प प्रस्ताव सर्वसम्मत रूपले पारित गरेपछि हिमाली जिल्लामा सिधा हवाईसेवाको प्रयास थालिएको हो ।
हिमाली जिल्लामा सिधा हवाईसेवा सञ्चालनका लागि प्रदेश सभा बैठकमा निर्णयार्थ पेस गरिएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भइसकेको छ ।
प्रदेश सभा सदस्य टेकराज पछाई र दक्षिणा शाहीको प्रस्तावमा प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विष्टले राखेको प्रस्तावमा अर्का प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले पनि समर्थन गर्नुभएको थियो ।
प्रस्तावमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट पहाडी तथा दुर्गम जिल्ला मुगु, जुम्ला, हुम्ला र डोल्पामा नियमित हवाईसेवा सञ्चालन गर्न प्रदेश सरकारले गम्भीरतापूर्वक आवश्यक पहल गर्ने, हवाईसेवा सञ्चालनका लागि सङ्घीय सरकार, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र निजी वायुसेवाप्रदायकसँग आवश्यक समन्वय र सहकार्यका लागि पहल गर्ने, हवाईसेवा सञ्चालनलाई दिगो र नियमित तथा प्रभावकारी बनाउन अनुदान दिने, सहुलियत वा सार्वजनिक नीति साझेदारी (पिपिपी) मोडल अवलम्बन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
त्यस्तै प्रदेशभित्र रहेको विमानस्थलको स्तरोन्नति तथा मर्मतसम्भार तथा सुरक्षा व्यवस्थापन सुधारका लागि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने, आपत्कालीन स्वास्थ्यसेवा, विपत् उद्धार तथा मानवीय सहायता प्रयोजनका लागि हवाईसेवालाई विशेष प्राथमिकतामा राखी सञ्चालनको व्यवस्था मिलाउने, हवाईसेवा सञ्चालनबाट स्थानीय अर्थतन्त्र, पर्यटन प्रवर्धन तथा रोजगारी सिर्जनामा पर्ने सकारात्मक प्रभावका निमित्त नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था मिलाउने भन्दै सङ्कल्प प्रस्तावमा उल्लेख छ ।
सङ्कल्प प्रस्ताव कार्यान्वयन भएमा कर्णाली प्रदेशका नागरिकको जीवनस्तरमा सुधार हुने, सेवा पहुँचको विस्तार र देशको समग्र सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । सङ्कल्प प्रस्ताव पेस गर्दै प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले प्रदेश राजधानीबाट हिमाली जिल्लामा हवाईसेवा सञ्चालनका लागि पटक पटक कुरा उठाउँदा पनि सम्भव नभएका कारण बाध्य भएर सङ्कल्प प्रस्ताव ल्याउनु परेको बताउनुभयो । प्रदेश सभाको ध्यानाकर्षण गराउन गराउँदै सङ्कल्प प्रस्ताव पास गरेपछि प्रदेश सरकारलाई सङ्घीय सरकारसँग समन्वय गर्न र निजी हवाईसेवाप्रदायक कम्पनीलाई समेत दबाब पर्ने दाबी उहाँले गर्नुभयो ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेत प्रदेशभित्रको हवाईसेवालाई केन्द्र बनाएर प्रदेशभित्रका विमानस्थलमा नियमित हवाईसेवा प्रदान गर्ने सेवाप्रदायकलाई सहुलियत प्रदान गर्ने नीति लिइने उल्लेख गरेको छ । सोही नीतिमा टेकेर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आवका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिए पनि हालसम्म यो कार्यक्रम कार्यान्वयनमा आउन सकेको छैन ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदेश सभामा उठेका कुराको जवाफ दिँदै हवाईसेवाका लागि ४० लाख रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो । यो रकम कार्यान्वयन गर्नका लागि मन्त्रालयमा कार्यविधि मसौदा निर्माणसमेत थालिएको उहाँले जनाउनुभयो । अहिलेसम्म कर्णालीका हिमाली जिल्लामा नियमित र सर्वसुलभ यातायात सेवासमेत छैन । प्रदेश राजधानी आर्थिक तथा प्रशासनिक सेवा केन्द्रका रूपमा रहे पनि कर्णालीका माथिल्लो जिल्लाका नागरिक हवाईमार्गबाट नेपालगन्ज झरेर त्यहाँबाट सार्वजनिक यातायातबाट सुर्खेत आउनुपर्ने बाध्यता छ । विगतमा पटक पटक प्रदेश राजधानीबाट हिमाली जिल्लामा सिधा हवाईसेवा थाल्ने भनिए पनि सार्थक हुन सकेको छैन ।