• ११ चैत २०८२, बुधबार

निकुञ्जभित्र कचौरा पोखरी गर्मीका बेला वन्यजन्तुलाई राहत

blog

बर्दिया राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको कचौरा पोखरी । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), चैत ११ गते । गर्मी बढेसँगै निकुञ्जभित्र पानीको स्रोत सुक्ने र पानीको अभाव देखिन थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जले कृत्रिम पोखरी निर्माण गर्न थालेको छ । 

यस वर्ष निकुञ्जभित्र चार स्थानमा कचौरा आकारका कृत्रिम पोखरी निर्माण गरिएको छ । निकुञ्जका अनुसार पानी ढुवानी गर्न सवारीसाधन सहज रूपमा पुग्न सक्ने स्थान छनोट गरेर पोखरी निर्माण गरिएको छ । पोखरीमा दैनिक जसो पानी भरेर वन्यजन्तुलाई निरन्तर पानी उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

गर्मीयाममा प्राकृतिक स्रोत सुक्ने र कृत्रिम पोखरीमा समस्या आए तत्काल समाधान गर्न कठिन हुने भएकाले वैकल्पिक उपायका रूपमा यो अवधारणा ल्याइएको निकुञ्जले जनाएको छ । कचौरा पोखरी नियमित अनुगमनमा राखिने र पानी घटेपछि तुरुन्तै ढुवानी गरेर भर्ने व्यवस्था गरिएको छ । प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले प्राकृतिक स्रोत सुक्दा पनि यी पोखरीबाट वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउन सकिने बताउनुभयो ।

करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै कर्णाली नदी बग्ने गर्दछ । पछिल्लो समय कर्णालीको बहाब पश्चिमतर्फ मोडिँदा पूर्वतर्फको गेरुवा भँगालोमा पानीको कमी देखिएको छ । जसले वन्यजन्तुलाई थप समस्या पारेको छ । आगामी वर्षमा यस्ता पोखरीको सङ्ख्या थप विस्तार गर्दै लगिने प्रमुख संरक्षण अधिकृत डा. अशोकले बताउनुभयो ।