• ११ चैत २०८२, बुधबार

‘स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउँछु’

blog

केदार तिमल्सिना   

बनेपा, चैत ११ गते  । काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली–५ का मधुकुमार चौलागाईंले लामो समयसम्म कानुन व्यवसायीका रूपमा काम गर्नुभयो । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा (माओवादी) का मुद्दाहरूमा सहजीकरण गरेका चौलागाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिँदै काभ्रेपलाञ्चोक–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

नेपाली कांग्रेसका उम्मेदवार गुणराज मोक्तानलाई १० हजार ४५२ मतान्तरले पराजित गरेका उहाँ आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार लथालिङ्ग अवस्थामा रहेकाले त्यसलाई पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । “भौतिक पूर्वाधारको क्षेत्रमा यहाँ ठुलो लगानी आएन, राज्यतर्फबाट उपेक्षित भएको पाएको छु । स्थानीयस्तरमा रोजगारी सिर्जना भएका छैनन् । रोजगारीको अभावमा यहाँका युवा बाध्यताले बिदेसिनु परेको छ,” उहाँले भन्नुभयो । स्थानीयको जीवनस्तर उकास्ने कार्यव्रmम ल्याउन आफूले पहल गर्ने चौलागाईं बताउनुहुन्छ । 

विधायकका हिसाबले भौतिक पूर्वाधार सुधारका लागि विकासका योजना ल्याउन नीतिगत व्यवस्था गर्ने उहाँले बताउनुभयो । विकास नभएको स्थानलाई प्राथमिकतामा राखेर बजेट विनियोजनको व्यवस्था मिलाउने बताउँदै उहाँ भन्नुहुन्छ, “स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न स्थानीय स्रोतसाधनलाई भरपूर प्रयोग गरिने छ ।” 

कृषि क्षेत्रमा तरकारीलगायतका नगदे बालीको मूल्य नपाउने अवस्थामा ती बालीलाई चिस्यान केन्द्रमा राख्ने वातावरण मिलाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्रमा सिँचाइको समस्या भएकाले त्यसलाई दीर्घकालीन रूपमा समाधान गर्ने छु । रासायनिक मल उपयोगिता घटाउने र प्राङ्गारिक मलको उपयोगिता बढाउने व्यवस्था गर्ने छु ।”

कृषकलाई तत्काल सहज रूपमा मल उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा प्राङ्गारिक मलको प्रयोगलाई कृषकको खेतबारीसम्म पु¥याउने विषयमा तयारी थाल्ने उहाँले बताउनुभयो । चौलागाईं शिक्षा, स्वास्थ्य र किसानका समस्यालाई ध्यानमा राखेर नीतिनिर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । “साधारण शिक्षाभन्दा प्राविधिक शिक्षालाई प्राथमिकता दिएर प्रविधिमैत्री बनाउने पहल गर्छु । शिक्षालाई उत्पादनसँग जोड्ने नीति अहिलेको आवश्यकता हो,” उहाँ भन्नुहुन्छ,  “उत्पादनसँग जोड्ने शिक्षाप्रणाली लागु गर्दा एकीकृत आवासीय शिक्षाप्रणाली कार्यान्वयन गरिनु पर्छ ।” 

जलस्रोत, जडीबुटी र कृषि उत्पादनका क्षेत्रको अधिकतम उपयोग गरेर सर्वसाधारणको आर्थिक स्थिति सुधार गर्ने नीति निर्माण गरिनुपर्ने उहाँ बताउनुहुन्छ । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गरेर स्वदेशमै काम गर्ने वातावरण मिलाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । 

पूर्वाधार, कृषि जस्ता क्षेत्रमा समान रूपमा बजेट आउनुपर्ने बताउँदै चौलागाईं भन्नुहुन्छ, “बजेट खर्च पारदर्शी हुने छ । पूर्वाधार क्षेत्रका काम सम्पन्न भइसकेपछि पनि निर्माण व्यवसायीलाई उक्त काममा जिम्मेवार बनाउन सक्ने खालको नीति निर्माण गरिनु पर्छ ।” संविधानमा स्वास्थ्यमा सहज पहँुच र निःशुल्क हुने भनिए पनि त्यसको प्रभावकारी ढङ्गले कार्यान्वयन नभएको पाइएकाले अब कार्यगत रूपमा तोकिएर लेखिनुपर्ने उहाँ बताउनुहुन्छ ।