बिकास अधिकारी
पश्चिम नवलपरासी, चैत ११ गते । पश्चिम नवलपरासीमा चैत १९ गते देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा केन्द्र तय गरेर अन्य तयारी थालेको छ । जिल्लाभरका १२१ विद्यालयका विद्यार्थीका लागि २३ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाइका परीक्षा शाखा प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो । एसइई परीक्षाको प्रश्न पत्र जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आइसकेको उक्त कार्यालयले जनाएको छ । अब केन्द्राध्यक्षसहित आवश्यक कर्मचारीलाई प्रशिक्षण दिने र केन्द्रमा प्रश्नपत्र पुर्याइने पौडेलले बताउनुभयो ।
नवलपरासीबाट यो वर्ष पाँच हजार ७७४ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । जसमा साधारण नियमित तर्फ २ हजार २७२ छात्र र २ हजार ११५ छात्रासहित ४ हजार ३८७ विद्यार्थी छन् भने प्राविधिक धार नियमित तर्फ ६५ छात्र र ५१ जना छात्रा छन् । ग्रेडवृद्धि तर्फ नयाँ पाठ्यक्रमका ५६९ छात्र र ६८६ छात्रा गरि १ हजार २५५ जना सहभागी हुँदै छन् भने ग्रेडवृद्धि पुरानो पाठ्यक्रम तर्फ ४ जना छात्र र १२ जना छात्रा परीक्षामा सहभागी हुने परीक्षा शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।
प्राविधिक धार तर्फको परीक्षा केन्द्र रामग्राम १२ शान्तिचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा तोकिएको छ । परीक्षा चैत्र २९ गते सम्म सञ्चालन हुने छ । एसइईलाई माध्यमिक शिक्षाको महत्वपूर्ण परीक्षाको रुपमा लिइने भएकाले विद्यार्थीले विशेष मेहनत गर्ने गर्दछन् ।