• ११ चैत २०८२, बुधबार

हुम्लामा स्थानीयलाई जीर्ण काठेपुलमै आवतजावत गर्ने बाध्यता

blog

माजसाँघु खोलामा निर्माण गरिएको निक्कै जिर्ण अवस्थामा रहेको काठेपुल। तस्बिरः राजन रावत

राजन रावत 
हुम्ला, चैत ११ गते ।
सिमकोट गाउँपालिका—८, स्याँडा गाउँका स्थानीयहरू आवतजावत गर्न निक्कै जीर्ण अवस्थामा रहेको माजसाँघु खोलाको काठेपुलमा बाध्य छन् । अन्य विकल्प नभएपछि अति आवश्यक भए पनि जीर्ण काठेपुलको स्थानमा झोलुङ्गे पुल निर्माणका लागि सहयोगी निकायहरूलाई पटकपटक अनुरोध गर्दा हालसम्म निर्माण गरिएको छैन ।

वडा अध्यक्ष कमल बुढाका अनुसार, दस वर्षअघि निर्माण भएको उक्त काठेपुल हाल जीर्ण अवस्थामा पुगेको छ । तर स्थानीय र पशुवस्तुले अझै सोही काठेपुलमै आवतजावत गर्नुपरेको छ । स्याँडा गाउँका २७५ घरधुरीका बासिन्दा खेतीपाती गर्न र पशुवस्तु चराउनका लागि दैनिक रूपमा उक्त काठेपुल तर्नु परेको छ ।

काठेपुलको लम्बाई ३३ फिट र चौडाइ ४ फिट छ । काठ कुहिएर प्वाल परेको अवस्थामा स्थानीयले ढुङ्गा राखेर ती प्वाल बन्द गरी आवतजावत गरिरहेका छन् । चार महिनाअघि सो पुलमा एउटा झोपा र एउटा घोडा खसेर घाइते भई मरेको घटना हुँदा जोखिम अझ बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई सुरक्षित बनाउन युवाहरूले सधैं हात समातेर तार्ने गरेको बुढाले बताउनुभयो ।

सिमकोट गाउँपालिकाका बासिन्दाहरूले यस्तो जोखिमपूर्ण अवस्थाबाट मुक्त हुन चाँडोभन्दा चाँडो नयाँ झोलुङ्गे पुल निर्माणको माग गरेका छन् ।