• ११ चैत २०८२, बुधबार

जडाङ्गाको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण हुँदै

blog

दानसाँघु खोलामा स्थानान्तरणका लागि खोलिँदै गरेको जडाङ्गाको बेलिब्रिज पुल । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, चैत ११ गते ।
बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ । सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो ।

बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले गत मंसिर ४ गते दानसाँघु खोलामा एक कार्यक्रमका बिच बेलिब्रिज पुलको शिलान्यास गर्नुभएको थियो ।

साँफे–मार्तडी सडकखण्डअन्तर्गत जडाङ्गास्थित प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई हाल दानसाँघु खोलामा स्थानान्तरण गर्न थालिएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख जनकबहादुर बोहराले जिल्लाको पूर्वोत्तर क्षेत्रका चारवटा स्थानीय तहका बासिन्दाको आवागमन सहज बनाउन उक्त पुल स्थानान्तरण गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो पुल यसअघि पनि दानसाँघुमा सार्ने पहल भएको थियो । केही समय विवाद भयो । पछि सहमति भए पनि आर्थिक अभावका कारण लामो समयसम्म जडाङ्गा खोलामै रोकिएको थियो ।”

बुढीनन्दा नगरपालिकाको पहल तथा सडक डिभिजन कार्यालय साँफेबगरको आर्थिक सहयोगमा पुल स्थानान्तरण कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

पछिल्ला पाँच वर्षदेखि उक्त पुल जडाङ्गा खोलामा अलपत्र अवस्थामा थियो । सुरुमा त्यहाँ पक्की पुल नहुँदा बेलिब्रिज उपयोगी भए पनि पछि नजिकै पक्की पुल निर्माण भएपछि यो प्रयोगविहीन बनेको थियो ।

सडक डिभिजन कार्यालय अछामका अनुसार करिब २ करोड २२ लाख रुपियाँको लागतमा जडाङ्गाबाट दानसाँघु खोलामा बेलिब्रिज स्थानान्तरणको काम भइरहेको छ ।

साँफे–मार्तडी सडकखण्ड अछामको साँफेबगरदेखि मार्तडीसम्म करिब ५७ किलोमिटर लामो छ भने मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर दूरी छ । त्यस्तै, कोल्टीदेखि धुलाचौरसम्म करिब १६ किलोमिटर सडक रहेको छ ।