• १३ असोज २०८१, आइतबार

पाकिस्तान विश्वकपको सेमिफाइनलमा

blog

खुशी हुँदै पाकिस्तानका क्रिकेटर । तस्बिर : क्रिकबज

काठमाडौं, कात्तिक २० गते । पाकिस्तान अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ। आइतबार एडिलेट मैदानमा भएको खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो। 

बङ्गलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले सहजै पूरा गरेर सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर बङ्गलादेशले दिएको १ सय २८ रनको लक्ष्य पूरा गरेको हो। 

बङ्गलादेशको चुनौतीलाई सस्तोमा समेट्न पाकिस्तानका मोहमद रिजवानले ३२, मोहमद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर आजमले २५ रन जोड्नुभयो। बङ्गलादेशका सकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले एकएक विकेट लिनुभयो। 

पहिलो ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रनको योगफल बनाएको थियो। बङ्गलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेल पनि जितका लागि पर्याप्त भएन। उसका लागि आफिफ होसेनले अविजित २४ रन जोड्दा सौम्य सरकारले २० रन बनाउनुभएको थियो। बङ्गलादेशलाई सस्तोमा समेट्न पाकिस्तानका शाहिन शाह अफ्रिदीले चार विकेट लिनुभयो। उसका लागि थप दुई विकेट शादब खानले लिनुभयो। 

यो जितसँगै ६ अङ्क जोडेको पाकिस्तान समूह २ बाट सेमिफाइनलमा प्रवेश गरेको हो। यो समूहबाट भारतसमेत सेमिफाइनलमा पुगिसकेको छ।