• १४ असार २०८१, शुक्रबार

कैलालीमा मतदाता शिक्षाका लागि नमुना मतदान

blog

कैलालीको सुख्खडमा नमुना मतदानमा सहभागी हुनुहुँदै एक कर्मचारी । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक १८ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारीका लागि कैलालीको सुख्खडमा नमुना मतदान गरिएको छ ।

उक्त मतदानमा शतप्रतिशत मत सदर भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कैलाालीको निर्वाचन क्षेत्र नं.३ को सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो ।

प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमुना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत स्वास्थ्य स्वयंसेविका, पालिकाका कर्मचारीलगायत सहभागी हुनुभएको थियो ।

सो अवसरमा नगर प्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत सङ्ख्या घट्ने बताउनुभयो । निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताउनुभयो ।

यस अघि कैलालीको निर्वाचन क्षेत्र नं.४ को गोदावरी नगरपालिका पनि नमूना मतदान कार्य सम्पन्न भएको थियो । जिल्लाका अन्य पालिकामा पनि नमुना मतदानको तयारी गरिएको छ ।

आजबाट सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न १२६ महिला स्वयंसेवी परिचालन गर्न लागिएको छ । स्थानीय पालिकाहरुबाट निर्वाचनसम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयंसेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्न लागिएको हो ।

निर्वाचन कार्यालयले स्थानीय तहका एक जना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत) को रुपमा खटाउन लागेको जनाएको छ ।