• ५ जेठ २०८१, शनिबार

एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी

blog

काठमाडौँ, कात्तिक १६ गते । छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी (डाक्टर)हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ। 

हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै सङ्कायमा थप अध्ययन गर्न पाउँदैनन्। जसले गर्दा उनीहरूको जीवन लाइसेन्स परीक्षा दिँदादिँदै बित्ने गरेको छ। काउन्सिलका अनुसार उनीहरूले बिरामी जाँच्न पाउँदैनन्। एमबीबीएस तथा बीडीएस पास गरेका डाक्टरलाई बिरामी जाँच्नबाहेक अन्य पेसा अपनाउन काउन्सिलले बाटो खोलिदिन लागेको हो। 

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले एमबीबीएस पास गरेका विद्यार्थीलाई अन्य विषय अध्ययन गर्दा पनि अनिवार्य लाइसेन्स परीक्षा पास गर्नुपर्ने हालको व्यवस्थालाई हटाउन खोजिएको बताउनुभयो। उहाँले एमबीबीएस उत्तीर्ण गरेकाले डिग्री लिएको भन्दै उनीहरूले लाइसेन्स परीक्षा पास नगरेको अवस्थामा भने बिरामी जाँच्न नपाउने बताउनुभयो। “लाइसेन्स पास गरेको भए त क्लिनिकल प्राक्टिस गर्न पाउँथे,” डा. कोइरालाले भन्नुभयो, “धेरै पटक लाइसेन्स परीक्षामा फेल भएका विद्यार्थीका लागि एमबीबीएसलाई डिग्रीको मान्यता दिन लागिएको हो।”

“उनीहरूले अस्पतालमा गएर बिरामी हेर्न पाउने छैनन् तर एमबीबीएस उत्तीर्ण भएपछि एउटा डिग्री हासिल गरेका हुन्,” डा. कोइलालाले थप्नुभयो, “लाइसेन्स फेल हुनेहरूका लागि पब्लिक हेल्थ, व्यवस्थापन, शिक्षालगायतका सङ्कायमा अध्ययन गर्न रोक्नुहुन्न भन्ने हो।” 

हालको व्यवस्थाअनुसार एमबीबीएस उत्तीर्ण भएकाहरू लाइसेन्स परीक्षा पास नभएसम्म अन्य सङ्कायमा अध्ययन गर्न पाउँदैनन्। डा. कोइरालाले १२ पटकसम्म लाइसेन्स परीक्षा अनुत्तीर्ण भएको विद्यार्थी (डाक्टर)ले बिरामी जाँच्न नसक्ने भएकाले उसलाई एमबीबीएस उत्तीर्ण भएसँगै डिग्रीको मान्यता दिन लागिएको बताउनुभयो। 

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले डाक्टरहरू धेरै पटक अनुत्तीर्ण भएपछि उनीहरूले बिरामी जाँच्नबाहेक अन्य सङ्काय वा पेसामा योग्य हुनेगरी व्यवस्था गर्न लागिएको बताउनुभयो। उहाँले मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा फेल भएका विद्यार्थीका लागि विश्वविद्यालय, मेडिकल कलेजलगायतका निकायसँग समन्वय भइरहेको उल्लेख गर्नुभयो। 

हाल एमबीबीएस पास गरेका डाक्टरले अन्य कुनै विषय अध्ययन गर्न चाहेमा मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण भएकै हुनुपर्छ। उनीहरूले एमबीबीएस उत्तीर्ण गरेर लाइसेन्स परीक्षामा अनुत्तीर्ण छन् भने पनि अन्य कुनै विषयमा थप अध्ययन गर्न पाउने व्यवस्था छैन। डा. अधिकारीले अन्य देशमा पनि एमबीबीएस गरेका डाक्टरले बिरामी जाँच्न नसक्ने स्थितिमा अरू पेसा अपनाउन दिने व्यवस्था रहेको जानकारी दिँदै नेपालमा उक्त व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो। “नेपालमा डाक्टर भन्नेबित्तिकै छुट्टै दृष्टिले हेरिन्छ। 

यसले बिरामी जाँच्न सक्छ या सक्दैन भन्ने थाहा हुन्न,” डा. अधिकारीले भन्नुभयो, “डाक्टर पढेर मात्र होइन, बिरामी परीक्षणका लागि योग्य भएन भने डाक्टर पढ्नुको कुनै अर्थ रहँदैन।” 

नेपालमा ३०–३५ पटकसम्म लाइसेन्स परीक्षा दिएर पनि अनुत्तीर्ण भएका एमबीबीएस धेरै छन्। उहाँले पटक–पटक परीक्षामा अनुत्तीर्ण हुने डाक्टरका लागि उसले चाहेको अवस्थामा अन्य सङ्कायमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागिएको बताउनुभयो। एमबीबीएसमा नियमित उत्तीर्ण हुने तर लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण भइरहन्छन् भन्ने प्रश्नमा डा. अधिकारीले अनुत्तीर्ण हुनुमा मेडिकल कलेजको मुख्य भूमिका रहेको बताउनुभयो। पढ्नै नसक्ने विद्यार्थीले लाखौँ खर्च गरेर पढेको हुन्छ, पास गरिदिऔँ भन्ने कलेजको लचिलो सोचले लाइसेन्स परीक्षामा फेल भएको उहाँको भनाइ छ। 

“लाइसेन्स परीक्षामा फेल भएका विद्यार्थीले थप पढ्न पाउँदैनन्, जागिर खान पनि पाउँदैनन्। उनीहरूको डिग्रीको मान्यता हुँदैन,” अधिकारीले भन्नुभयो, “यसले अनुत्तीर्ण भएका विद्यार्थी र परिवारमा तनाव उत्पन्न गरिदिएको छ।”



   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।