• २४ भदौ २०८२, मङ्गलबार

मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट तीन जनाको ज्यान बच्ने

blog

काठमाडौँ, भदौ २४ गते । काठमाडौँका सङ्कल्प खड्काले मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो दान पाएर कलेजो प्रत्यारोपण गराउनुभएको एक महिना पूरा भएको छैन । उहाँले आफ्नो नातेदार, घरपरिवार, आफन्तकहाँ हारगुहार गर्दा पनि कलेजो दानका लागि नमिलिरहेको अवस्थामा गत महिना ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्ति आएपछि उहाँलाई कलेजो प्रत्यारोपण सहजै भएको हो । 

सोमबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार पाँच सय जनाको मिर्गौला प्रत्यारोपण गरेको अवसरमा आयोजना गरेको कार्यक्रममा २५ दिनअघि मात्र कलेजो प्रत्यारोपण गराउनुभएका खड्काले भन्नुभयो, “आफन्त, नातागोता, परिवारका सदस्य कसैको पनि कलेजो प्रत्यारोपण गर्न नमिलेपछि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट कलेजो पाएर प्रत्यारोपण हुनु मेरा लागि पुनर्जन्म हो ।” 

“मलाई कलेजो दान दिन सक्ने मानिसको कलेजो लिन कानुनले दिँदैन थियो,” खड्काले भन्नुभयो, “मस्तिष्क मृत्यु भइसकेको व्यक्तिले तीन जनाको जीवन एकसाथ बचाउन सक्ने रहेछ ।” साउन ३० गते एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट खड्काले कलेजो र अन्य दुई जनाले मिर्गौला प्रत्यारोपण गराउन सफल हुनुभयो । “एक जनाले तीन जनालाई बचाउन सकिने रहेछ,” उहाँले भन्नुभयो, “सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यारोपणका लागि जागरण ल्याउनु पर्छ ।”

यस्तै आफ्नी भाइबुहारीलाई मिर्गौला दान दिएर बचाउनुभएकी शान्ति गुरुङले अरूलाई मिर्गौला दान दिएर बचाउनु जस्तो धर्म अरू कुनै नहुने बताउनुभयो । ५४ वर्षीय गुरुङले आफू धर्मभक्त प्रत्यारोपण केन्द्रको कारणले यहाँसम्म आएको अनुभव सुनाउँदै मिर्गौला दान दिएको सुरुवात दिनदेखि अहिलेसम्म सहज रहेको बताउनुभयो । प्रत्यारोपण केन्द्रमा बिरामीका लागि पारिवारिक वातावरण रहेको भन्दै उहाँले आफू र आफ्नो परिवार विगत १४ वर्षदेखि विदेशमा बस्दै आए पनि आमाजू भएर बुहारीलाई अङ्गदान दिएर बचाउन सके भने उनीहरूको भविष्य बदलिने सोचले मिर्गौला दान दिएको सुनाउनुभयो । 

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दुई दशकअगाडिसम्म विश्व स्वास्थ्य सङ्गठनले नेपालमा मिर्गौला फेल भएमा मृत्युवरण गर्न बाध्य हुनुपर्ने तथ्याङ सार्वजनिक गरेकोमा अब त्यो स्थिति नरहेको बताउनुभयो । उहाँले सन् २००८ देखि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्दा चार वर्षमा ९९ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको स्मरण गर्नुभयो । डा. श्रेष्ठले सरकारले सञ्चलनमा ल्याएको खाली भवनमा प्रत्यारोपण केन्द्र स्थापना गरेर छ महिनासम्म डायलासिस सेवा दिएको र १० महिनाभित्र प्रत्यारोपण सुरु भएको बताउनुभयो । 

हाल केन्द्रमा छिमेकी मुलुक भारतदेखि अमेरिका, क्यानडा, युरोपबाट समेत उपचारका लागि मानिस आउने गरेको जानकारी दिनुभयो । नेपालमा विश्वकै सबैभन्दा सस्तोमा अङ्ग प्रत्यारोपण हुने उहाँको भनाइ छ । हालसम्म एक हजार ५०२ जनाको मिर्गौला र ३५ जनाको कलेजो प्रत्यारोपण गरिसकेको उहाँले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “प्रत्यारोपित पेम्बा शेर्पाले सगरमाथा शिखर चुमेर विश्व रेकर्ड राख्नुभएको छ । केन्द्रमा ९९ प्रतिशत प्रत्यारोपणमा सफलता मिलेको छ ।”


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।