गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १३ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र सङ्ग्रौलाको पुस्तक ‘एक बाघी’ लोकार्पण समारोहमा उहाँले सो कुरा बताउनुभयो । हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै सङ्गतको प्रभाव हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
साहित्यकार सङ्ग्रौला आफूसरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उहाँको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीले सिक्नुपर्ने कुराहरू धेरै रहेको बताउनुभयो । महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र सङ्ग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्नेकुरा सिकाएको बताउनुभयो । साहित्यकार सङ्ग्रौलाको नयाँ पुस्तकमा कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरू समेटिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खगेन्द्र सङ्ग्रौला काँग्रेस त हुँदै होइन, त्यसमाथि कालो काँग्रेस हुने कुरै भएन । तर मेरो उमेर समूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र सङ्ग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र सङ्ग्रौलाले सिकाउनुभयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ । व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर सङ्गतको प्रभाव पनि हुन्छ ।’ महामन्त्री थापाले साहित्यकार सङ्ग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दले आजको यथार्थता र समयको मागलाई सम्बोधन गर्नेगरेको उहाँले बताउनुभयो ।