• १६ वैशाख २०८१, आइतबार

नेपाल संवत् सम्पूर्ण नेपालीको हो: डा. बज्रमुनि बज्राचार्य

blog

काठमाडौं, कात्तिक ९ गते । आज बुधबारदेखि नेपाल संवत् नयाँ वर्ष ११४३ सुरू भएको छ । यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदादेखि सुरू हुन्छ । लक्ष्मीपूजाको भोलिपल्टदेखि सुरु हुने यो संवतमा आधारित रहेर विभिन्न जात्रा र उत्सव निश्चित गरी मनाउने गरेको पाइन्छ ।

आजको दिन एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षको भिन्तुना र्‍याली पनि निकाल्ने परम्परा छ । यस दिनको अर्को विशेष पक्ष भनेको ‘म्ह पूजा’ पनि हो । नेवाः समुदायमा ‘म्ह पूजा’ र नेपाल संवत् एकैदिन मनाउने चलन चल्दै आएको छ । नेपाल संवत् सम्पूर्ण नेपालीको हो ।

त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागका  उपप्राध्यापक डा. बज्रमुनि बज्राचार्यका अनुसार लिच्छवि कालका अभिलेखमा विभिन्न संवतहरु नामकरण गरिएको पाइन्छ ।

त्यसबेला नेपाल संवतलाई संवत् मात्रै भन्ने चलन थियो । राजा राघवदेवको पालादेखि नेपाल संवत् सुरु भएको उहाँको भनाइ छ । इतिहासका धेरै ग्रन्थहरुमा राजा राघवदेवको नाम उल्लेख भएको पाइन्छ । अर्को किम्बदन्तीमा भनिएको छ कि नेपालमा पहिला विभिन्न प्राकृतिक प्रकोपहरु हुन्थ्यो ।

त्यसबेला नै विशालनगर जलेको थियो । उक्त समयमा पुराना संवतहरु हटाएर नयाँ संवत् चलनमा ल्याइएको पनि भन्ने गरिएको उहाँ बताउनुहुन्छ ।

यस्तै, उहाँ भन्नुहुन्छ “शङ्खधर नाम गरेको व्यापारीसँग पनि नेपाल संवतको किम्बदन्ती जोडिएको पाइन्छ । उक्त व्यापारीले काठमाडौंका सबै ऋणहरुलाई ऋण मुक्त गरिदिएको दिनदेखि हर्षेाल्लासका साथ नयाँ दिन र नयाँ वर्ष अर्थात् शांख्वा संवत् मनाउने चलन सुरु भएको मानिन्छ ।”

तर यसको कुनै सांस्कृतिक उल्लेख भने नरहेको उहाँ बताउनुहुन्छ । “नेपाल संवत् हाम्रो देशको नामबाट प्रचलित छ । नेपाल संवत् नेवार समुदायको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको हो, यो कृषिसँग पनि सम्बन्धित छ,” उहाँ भन्नुहुन्छ ।

नेवाः समुदायमा ‘म्ह पूजा’ मनाउने चलन सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरू भएको दिन नेवार समुदायमा ‘म्ह पूजा’ गर्ने चलन छ । म्ह पूजा नेपालभाषाको शब्दावली हो जसको अर्थ हुन्छ, शरीर वा आत्मा पूजा । ‘म्ह’ को अर्थ शरीर वा आत्मा हो । त्यसैले शरीरको पूजा नै म्ह पूजा हो ।

उहाँका अनुसार जबदेखि नेवाःहरु सभ्य जीवन जिउन सिके त्यसबेलादेखि नै आवश्यकताअनुसार धर्म र संस्कृतिको विकास हुँदै गएको छ । नेवाः समुदायले मनाउने स्वन्ति नखःमा म्ह पूजाको ठूलो महत्व रहने उहाँको भनाइ छ ।

नेवाः समुदायमा लक्ष्मी पूजाको दिन आर्थिक वर्षको अन्त्य गरी म्ह पूजा गरेर नयाँ वर्षको सूरुवात भएको मानिन्छ । मानिसको जन्मदिन मनाए जस्तै म्ह पूजा गरेपछि नयाँ जीवन सुरु भएको मानिन्छ ।

आजको दिन आफू मण्डप (काय मण्डल) अगाडि बसेर विभिन्न विधि विधानमा रहेर म्ह पूजा गर्दैै नयाँ जीवनको सुरुवात भएको मानिन्छ ।

नेपाल संवत् अर्थात् नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैँमा मौलिक रहेको उपप्राध्यापक बज्राचार्य बताउनुहुन्छ । आजको दिन नुहाउने, सरसफाई गर्ने, नयाँ लुगा लगाएर मण्डप अगाडि बसेर रातको समयमा म्ह पूजा गर्ने चलन रहेको छ ।

नेपाल संवत् र म्ह पूजालाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागका उपप्राध्यापक डा. बज्रमुनि बज्रचार्यसँग गरिएको भिडियो संवाद ।

भिडियो: मनोजरत्न शाही र केशब गुरुङ