• १७ असार २०८१, सोमबार

वागेश्वरीमा सुरु भयो गाैं कथा महोत्सव

blog

वागेश्वरीमा कथा महोत्सव । तस्बिर –शान्ता अधिकारी

शान्ता अधिकारी 

चितवन, कात्तिक ७ गते । योगी नरहरिनाथ आश्रमस्थल चितवनको बागेश्वरीमा सोमबारदेखि त्रिदिवसीय गौं कथा महोत्सव सुरु गरिएको छ ।

वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका सदस्य रामप्रसाद ओस्तीका अनुसार गाईको धार्मिक महत्त्व र संरक्षणको लागि लक्ष्मी पूजा अर्थात् गाई तिहारको अवसर पारेर आश्रमले उक्त महोत्सव आयोजना गरेको हो ।

महोत्सवको पहिलो दिन गलेश्वर आश्रम देवघाटका पिठाधीश आत्मानन्द गिरी महाराजले विधिपूर्वक लक्ष्मी पूजा गरी कार्यक्रम उद्घाटन गर्नुभएको हो । उहाँले उद्घाटन अवसरमा मन्तव्य व्यक्त गर्दै वैदिक सनातन धर्ममा गाईलाई साक्षात् लक्ष्मीको रूपमा लिएको बताउनुभयो, ‘शास्त्र र हिन्दु धर्ममा गाईलाई माता अर्थात् आमा सरह मानिएको छ । गाईको सेवा गर्नु सदाचार जीवन पद्धति हो ।’  

सोही कार्यक्रममा गाईको महत्त्वबारे प्रकाश पार्दै वागीश्वरी आध्यात्मिक परिषद्का प्रमुख संरक्षक योगी श्रीशनाथले गौं सेवा आफैँमा पवित्र सेवा मात्र नभएर स्वास्थ्य रहने प्रक्रिया भएको बताउनुभयो ।


उहाँले गाई, गाईको दूध मात्र होइन गाईको गहुँत र गोबरमा समेत मानिसको स्वास्थ्य र तन्दुरुस्ती हुने शक्ति प्राप्त हुने दाबी गर्नुभयो । अस्वास्थ्य भएर डाक्टरकोमा जाने होइन गाई र जडीबुटीको अध्ययन गरेर आफैँ डाक्टर बन्न सकिने उहाँको दाबी थियो ।

परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्तित्व, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेद्वारहरु समेतको उपस्थिति थियो । 

पूजाको लागि गौशाला नजिकै गोवर्द्धन पर्वतको आकृति बनाएर पूजा गरिएको छ ।