• २२ वैशाख २०८१, शनिबार

४० खेलाडीमा गरियो एन्टिडोपिङ परीक्षण

blog

प्रजित शाक्य

पोखरा, कात्तिक ३ गते । प्रमुख खेलकुद मेलामा डोपिङ पनि नचाहेरै जोडिन आएको अभिन्न अङ्ग बनिसकेको छ । खेलमा पहिलो हुने नाममा खेलाडीहरु गलत तरिका अपनाउन पनि पछि पर्दैनन् । जसमध्ये खेलाडीद्वारा शक्ति बढाउनका लागि प्रयोग गर्ने प्रतिबन्धित औषधिको प्रयोग सबभन्दा अगाडि छ । जसलाई डोपिङ भनिन्छ ।

विश्व खेलकुदमा यसलाई डरलाग्दो रोगको रुपमा लिइएको छ । डोपिङमा नेपाल पनि मुछिइसकेको राष्ट्र हो । सन् २००६ भएको कोलम्बो सागमा राजेन्द्र भण्डारीको दुई स्वर्णपदक खोसिएको थियो ।

खेलाडीहरुबाट यस्तै खेलभावना विपरीतको काम नहोस् भन्ने हेतुले नवौँ राष्ट्रिय खेलकुदमा डोपिङ परीक्षण गरिएको छ । डोपिङ परीक्षण महँगो प्रक्रिया हो । यसैले यसपालि ४० जना खेलाडीको मात्र डोपिङ परीक्षण गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदमा परीक्षणका लागि सङ्कलन गरिएका नमुना कतार पठाइएको छ । सो डोपिङको नतिजा प्राप्त हुने केही समय लाग्नेछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यति धेरै खेलाडीको एन्टि डोपिङ परीक्षण गरिएको यो पहिलो पटक हो । जुन अभ्यासलाई निकै सकारात्मक मान्न सकिन्छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एन्टि डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतगठित एन्टि डोपिङका उपसमितिका सचिव डा. ज्ञानेन्द्रविक्रम शाहले जानकारी दिएका छन् । 

उहाँले भन्नुहन्छ– यस्तो डोपिङ परीक्षणले नेपाली खेलकुदको स्वच्छतालाई अघि बढाउन सहयोग पुग्नेछ । यसपटक विभिन्न खेलमा ४० जनाको डाेपिङ परीक्षण गरिएको छ ।”

उहाँले डोपिङ संवेदनशील विषय हो भन्नुहुन्दै नवौँ राष्ट्रिय खेलकुदमा डोपिङ परीक्षणका लागि गरिको नमुना सङ्कलन दक्षिण एसियाली खेलकुदको इतिहासमा धेरै भएको दावी गर्नुभयो । डा. शाह दक्षिण एसिया एन्टि डोपिङका सदस्यसमेत रहुनुहुन्छ । उहाँले भन्नुभयो– यो ठूलो रोग हो । 

खेलाडीले पदक जित्न शक्तिवर्धक औषधि प्रयोग गरेका इतिहास मात्रै होइन, एन्टि डोपिङबाट पदक खोसिएको इतिहास पनि हामीसँग छ । खसमा नेपाली राष्ट्रिय खेलाडीले आफ्नो खेलको प्रदर्शनको सुधार शक्तिवर्धक औषधिको प्रयोगबाट नभई आफ्नै सक्षमतामा निर्भर हुनुपर्छ ।”

उहाँका अनुसार खेलाडीले जितेको पदक र खेललाई  आधिकारिकता दिन एन्टि डोपिङको समेत विशेष भूमिका रहने हुन्छ ।

पोखरामा जारी राष्ट्रिय प्रतियोगितामा एन्टि डोपिङका लागि दक्षिण एसियाली एन्टि डोपिङ संस्थाले सहयोग गरेको हो । राखेपले एन्टि डोपिङका लागि डा. नविशमान सिंहको संयोजकत्वमा ६ सदस्य कमिटी बनाएको थियो ।