• ७ मंसिर २०८१, शुक्रबार

‘सत्यमोहनका तीन सपना अधूरै रहे’

blog

काठमाडौं, असोज ३१ गते । अत्यन्त सरल स्वभाव र कहिल्यै रिस नै नउठ्ने, व्यक्तित्व हुनुहुन्थ्यो– वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी । यदि कसैसँग रिस उठिहाले पनि फलानो मान्छेले यो नगरेको भए हुन्थ्यो भन्दै प्रतिक्रिया राख्नुहुन्थ्यो । कसैमाथि रिस, भेदभाव र ईर्ष्या गर्ने बानी जोशीको थिएन । 

१०३ वर्षीय जोशी जीवनमा चिन्ताबाट मुक्त हुनुपर्छ तर चिन्तन मनन गर्नुपर्छ भन्ने व्यक्तित्व हो । जस्तै नाइटिङगेलको सिद्धान्त छ ‘सिम्पल लिभिङ हाई थिङकिङ’ अर्थात् सादा जीवन उच्च विचार । 

चिन्तन मनन ईश्वरले दिएको वरदान हो । बुढेसकालमा यसको अर्थ जानियो भने धेरै राम्रो र जानिएन भने दुःख मात्रै हुन्छ भन्ने विश्वास राख्नुहुने व्यक्ति हुनुहुन्थ्यो जोशी । 

नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यको शताब्दी पुरुष जोशीसँग धेरै लामो समयसम्म साथीको सम्बन्ध छ । जोशीसँग नेपाल भाषा एकेडेमीमा काम गर्दा धेरै कुरा सकिने अवसर पाएको शाक्य बताउनुहुन्छ । 

शाक्यका अनुसार जोशीका तीनवटा सपना अधूरै रह्यो । जसमा जोशीकै निवासमा बन्दै गरेको पौभा चित्र बनाउन सकिएपछि हेर्ने चाहना, अर्को जोशीको १०४ औं जन्मदिन पारेर ‘बैद्यबा’ नामक फिल्म बनाउने र श्रीमती राधादेवी जोशीको जीवन कहानी पुस्तक प्रकाशन गर्ने । 

सादा जीवन उच्च विचार, यसै सिद्धान्तबाट आफ्नो जीवनलाई अघि बढाउनुभएको जोशीको व्यक्तित्व साधारण भन्दा पनि असाधारण व्यक्तित्वको रूपमा चित्रण गर्न सक्ने उहाँको भनाइ छ । 

“उहाँको जीवन मन्त्र भनेकै बुढेसकाल ईश्वरीय दान हो, सबैको उमेर पुगेपछि अवकाश जीवन जिउने सपना वा विशेष तरिकाको विश्राम हुन्छ तर जोशीले विश्राम लिनुभएन जसको फल स्वरूप जोशी वाङमय शताब्दी पुरुष बन्न सफल हुनुभयो । अहिले मृत्युपछि पनि जुन सम्मान उहाँले पाउनुभएको छ यो उहाँको मिहिनेत र त्यागको परिणाम हो”, शाक्यले भन्नुभयो ।  

नेवार समुदायमा जन्मिनुभएका जोशीले नेपाली भाषाको उत्पत्तिको अनुसन्धान गर्न, लोक संस्कृतिको क्षेत्रमा पहल गर्नेलगायतका काममा उहाँको ठूलो योगदान रहेको छ । यी दुवै विद्यामा उहाँले मदन पुरस्कारसमेत पाउनुभयो । तीन पटक मदन पुरस्कार पाउन सफल व्यक्ति हुनुहुन्छ जोशी । 

सिङ्गो नेपालको जिउँदो इतिहास वा जीवित सम्पदाको रूपमा रहनुभएका जोशीको संस्कृति र साहित्यप्रति समर्पित भएर जीवन बिताउनुभयो । जुन हामी र सिङ्गो राष्ट्रको ठूलो धन हो । 

उहाँ धेरै नै साधारण व्यक्ति हुनुहुन्थ्यो, जीवनमा धर्म, संस्कृतिलाई अँगाल्ने, आमाबुबालाई भगवान् मान्ने । आमाबुबाको अन्तिम इच्छा पूरा गर्न मिहिनेत गर्ने छोरा हुनुहुन्थ्यो । यसरी आमाको सम्झनामा उहाँले आमाको चिनो स्वरूप सधैँ सादा टोपी लगाउने गर्नुभएको शाक्य सम्झिनुहुन्छ ।

शाक्यका अनुसार जोशीका तीन वटा सपना अधूरै रह्यो । जसमा जोशीकै निवासमा बन्दै गरेको पौभा चित्र बनाउन सकिएपछि हेर्ने चाहना, अर्को जोशीको १०४ औँ जन्मदिन पारेर ‘बैद्यबा’ नामक फिल्म बनाउने र श्रीमती राधादेवी जोशीको जीवन कहानी पुस्तक प्रकाशन गर्ने । 

जोशीको सम्मानमा राज्यले धेरै गरेको छ, यसमा जोशीलगायत उहाँको परिवारको केही गुनासो नभएको शाक्य बताउनुहुन्छ । 

साधारण रहनसहन र उच्च विचार नै सरल जीवन यापन गर्नु पहिलो मन्त्र हो । यसबाहेक जोशी र उहाँका श्रीमतीबीचको माया नै जोशीको जीवनमा ठूलो योगदान छ । 

नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यसँग वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको करिब १५ वर्षको लगाव थियो । 

आइतबार बिहान निधन हुनुभएका जोशीको जीवनसँग हामी सबै युवाले सादा जीवन उच्च विचार राख्नुपर्ने र जीवनलाई अझै गहिराइमा बुझ्नुपर्ने पाठ सिक्न सकिने विचार शाक्यको छ । 

प्रस्तुत छ–नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यसँग शताब्दी पुरुष जोशीका विषयमा केन्द्रित रहेर गरिएको भिडियो संवाद  : भिडियो  : मनोजरत्न शाही र केशब गुरुङ