गोविन्द रेग्मी
काठमाडौँ, कात्तिक १९ गते । फुटबलमा तीन दशक समय व्यतित गर्नुभएका उत्तम भण्डारी अहिले सरस्वती युथ क्लबको अध्यक्ष हुनुहुन्छ ।
पूर्व खेलाडी एवम्ने पाली राष्ट्रिय पुरुष फुटबल टोलीको म्यानेजरसमेत रहनुभएका भण्डारीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा विभिन्न समितिमा रहेर काम पनि गर्नुभयो ।
पछिल्लो समय नेपाली फुटबल मैदानमा भन्दा मैदान बाहिरको बिबादले चर्चामा छ । क्लब फुटबल शुन्य जस्तै छ । राष्ट्रिय टोलीका राम्रा खेलाडी विदेश पलायन भइसकेका छन् । यस्तो विकराल अवस्थालाई टुलुटुलु हेरेर बस्नु पर्दा पीडा भएको भण्डारी बताउनुहुन्छ ।
एन्फाको नेतृत्वमा रहने व्यक्तिहरू पारदर्शी ढङ्गले नचल्दा फुटबलका नियमित गतिविधि सञ्चालन नभएको उहाँको ठहर छ । ‘‘फुटबल भए नै समर्थकले साथ दिने हो । प्रायोजकले पनि लगानी गर्ने हो । तर मैदानमा फुटबल नै नभएपछि समर्थकले असन्तुष्टी व्यक्त गर्नु स्वभाविक हो,’’ भण्डारी भन्नुहुन्छ ।
फुटबल खेलको मेरुदण्डको रूपमा रहेको सहिद स्मारक ‘ए’ डिभिजन लिग तीन वर्षसम्म हुन नसक्नु ठुलो कमजोरी भएको र त्यसैको कारण खेलाडी पलायन भएको उहाँले बताउनुभयो ।
‘‘फुटबल क्यालेन्डरमा होइन–मैदानमा गरिनु पर्छ । काठमाडौँमा भएको एउटै दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल्न अयोग्य हुनु भनेको एन्फा, नेपाल सरकार र सरोकार सबैको कमजोरी हो । भौतिक संरचना निर्माणका लागि सरकारले पनि चासो दिन आवश्यक छ । विस्तारै क्रिकेट कहाँ पुग्यो, फुटबल कहाँ थ्यो र अहिले कहाँ छ ? सबैलाई थाहा छ नी,’’ भण्डारीले भन्नुभयो ।
फुटबलका गतिविधि अन्त्य गरेर एन्फा नेतृत्व आगामी निर्वाचनमा फेरि आफ्नो पकड जमाउने अभियानमा लाग्नु राम्रो नभएको पनि भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘फुटबलमा राम्रो गरेपछि नेतृत्वमा आउन कसैलाई समस्या छैन । तर हाम्रोमा तिकडम मात्र हुन्छ । फुटबल विज्ञान र प्रविधिसम्बत चल्न नसक्दा नेपाली टोली सम्हाल्न आएका विदेशी प्रशिक्षक समेत टिकिरहेका छैनन् । खेलमा हार जित स्वभाविक हो । तर हारले जित्ने वातावरण बनाउँछ भन्ने कुरा बुझेर अगाडि बढ्नुपर्छ ।’’
एन्फाले घरेलु लिगको ए, बी, सी सर्किट पूरा गर्न ध्यान दिए नेपालका क्लबहरू होम एन्ड अवे लिग खेल्न तयार रहेको पनि भण्डारीले बताउनुभयो ।
‘‘करोडौँ लगानी गर्ने क्लबले लगानीको सुरक्षा पनि खोज्छ । प्रायोजकले पनि सोहीअनुसार प्रायोजन गर्ने हो । नेपाली फुटबलमा प्रायोजक हराउनुमा एन्फा नेतृत्व प्रतिको अविश्वास हो । अहिले फुटबल क्लब र एन्फाका पदाधिकारी युवा तथा खेलकुद मन्त्रालय जानु भनेको एकआपसमा मिल्न नसक्दाको अर्को कमजोरी भएको छ,’’ भण्डारीले भन्नुभयो ।
समाज सेवा धर्म र फुटबललाई कर्म मान्ने भण्डारी अबको एन्फा निर्वाचनबाट नेपाली फुटबललाई हृदयदेखि माया गर्ने र विश्व परिवेशअनुसार हाक्न सक्ने नेतृत्व आउनुपर्ने उहाँको सुझाव छ ।
नेपाली फुटबलका विभिन्न पक्षबारे भण्डारीसँग गोरखापत्र अनलाइनका लागि गोविन्द रेग्मीले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :