• १९ कात्तिक २०८२, बुधबार

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता

blog

१०औँ राष्ट्रिय खेलकुद आयोजना हुने रङ्गशाला । फाइल तस्बिर

काठमाडौँ, कात्तिक १९ गते । दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख रुपियाँ पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।

बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।